काठमाडौं । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि दोस्रो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकेको छ । अब बाँकी शेयर थप सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको छ ।
यसबाहेक पनि ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ । अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ भने थप सर्वसाधारणमा जारी गर्न लागिएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले कम्पनीको आईपीओमा खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था रहेको छ । छिटोमा जेठ १९ गतेसम्म निष्कासनमा रहने यो आईपीओ सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ २८ गतेसम्म निष्कासन लम्बिनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतीप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको पहिलो परियोजना काठमाडौंको थापाथलीमा ट्रेड टावर रहेको छ । कम्पनीले ललितपुरमा भैंसेपाटीमा १९० ओटा अपार्टमेन्ट निर्माण तथा विक्री गरी दोस्रो परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ छ । गत आर्थिक वर्षसम्म ४ करोड ८२ लाख रुपैयाँसम्म सञ्चित नाफामा रहेको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने १२३ रुपैयाँ ९ पैसा रहेको छ ।