काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो ।
कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयका लागि जारी गर्ने कुल कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर धार्चे गाउपालिकाका वडा नम्बर ४ र ५ का स्थानीयलाई छुट्याईएको छ भने बाँकी रहेको ६० प्रतिशत शेयर धार्चे गाउपालिकाका १,२,३,६, र ७ का स्थानीयलाई छुट्याईएको छ । सम्बन्धित स्थानका स्थानीयले आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । स्थानीयले छिटोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ४ गतेसम्म स्थानीयमा आईपीओ निष्कासन गरिने जानकारी कम्पनीले दिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै सम्बन्धित कम्पनीको कार्यालय र सम्पूर्ण आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिनेछ ।
यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालू आर्थिक वर्षभित्र भने ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा छ ।