सिमेन्ट उत्पादकहरूले कालोपत्रे सडकभन्दा कंक्रिटको सडक बनाउन सरकारसँग माग गरेका छन् । यो माग अहिलेको होइन, धेरै अघिको हो र कतिपय ठाउँमा यस्ता सडक नबनेका पनि होइनन् तर लागत र लाभका हिसाबले कंक्रिटको सडक पनि विकल्प बन्न सक्छ भन्नेमा सरकारले अध्ययन भने गरेको पाइँदैन । केही सडकमा घुम्ती, उकालो र उत्तरतिर फर्केको घाम नलाग्ने ठाउँमा टुक्रा–टुक्रा कंक्रिट सडक बनाउने गरिएको छ । खासगरी पिच गरिएको सडक वर्षाको पानीले धेरैपटक बिग्रिएपछि कंक्रिट सडक बनाउन थालेको देखिन्छ । सिमेन्टको उत्पादन नेपालमा हुने भएकाले पिच सडकभन्दा कंक्रिट सडक बनाउँदा स्वदेशी उत्पादन बढी प्रयोग हुन्छ । अहिले सिमेन्टको माग नभएर समस्या परिरहेका बेला यस्तो सडक बनाउने हो भने उद्यमीलाई सहयोग पुग्ने पनि देखिन्छ । तर, ठूलो लगानीमा बन्ने कंक्रिटको सडक बनाउन यति फाइदामात्र हेरेर प्राथमिकता दिने भन्ने चाहिँ हुँदैन । तैपनि नेपालको भौगोलिक बनोट हेर्दा कतिपय स्थानमा यस्तो सडक उपयुक्त हुने केही विज्ञको भनाइ पाइन्छ । त्यसो हुँदा यसबारेमा सरकारले ठोस अध्ययन गराउनु उपयुक्त हुन्छ ।
- कंक्रिट सडक दीर्घकालीन, टिकाउ र वातावरणमैत्री विकल्प हो, जसले आधुनिक पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
- उच्च लागत लागेको कंक्रिटको सडक भत्काउने र फेरि बनाउने गर्दा लागत धेरै महँगो पर्ने निश्चित छ ।
कंक्रिट सडकहरू अन्य सडकहरूको तुलनामा धेरै टिकाउ मानिन्छन् । यसको निर्माणपश्चात् ३० देखि ५० वर्षसम्म मर्मत नगरी प्रयोग गर्न सकिने क्षमता हुन्छ । यस्ता सडकहरूमा धुलोको मात्रा कम हुने र तुलनात्मक रूपमा वातावरणमैत्री हुने विशेषता पाइन्छ । तापक्रमको दृष्टिले पनि कंक्रिट सडकहरूले गर्मी समयमा सूर्यको ताप अधिक प्रतिबिम्बित गर्छन् जसले आसपासको वातावरणलाई धेरै तातिन दिँदैन । यसले शहरी क्षेत्रको ‘हीट आइल्यान्ड इफेक्ट’ कम गर्न सहयोग पुर्याउँछ । पानीले क्षति गर्ने ठाउँमा कंक्रिट सडक उपयुक्त देखिन्छ ।
कंक्रिट सडक कालोपत्रे सडकभन्दा बनाउन महँगो हुन्छ । विज्ञका अनुसार कंक्रिट सडक प्रतिकिलोमीटर अनुमानित ३ करोड रुपैयाँदेखि साढे ३ करोड रुपैयाँ लाग्ने देखिएको छ भने कालोपत्रे सडक बनाउन प्रतिकिलोमीटर अनुमानित १ करोड रुपैयाँ लागत पर्छ । तर, कंक्रिट सडकको आयु पिच सडकको भन्दा निकै बढी हुने देखिन्छ । निर्माणका क्रममा पर्खाल र जडान प्रक्रिया समय लाग्ने भए पनि एकपटक तयार भएपछि यसले लामो समयसम्म सेवा दिन सक्छ । यस्तो सडकमा भारी ट्रक तथा यातायातका साधनहरू सजिलै गुड्न सक्छन् । त्यसैले कंक्रिट सडक महँगो भए पनि त्यसका फाइदा देखिएकाले कस्तो कस्तो ठाउँमा कंक्रिट सडक बनाउने भन्ने अध्ययन हुनु जरुरी छ । कंक्रिट सडकका केही कमजोरीहरू पनि छन् । यसको निर्माणको लागि प्रारम्भिक लागत बढी हुन्छ । मर्मत गर्दा पूरै स्ल्याब परिवर्तन गर्नुपर्ने हुनाले लागत बढ्न सक्छ । त्यस्तै पिच सडकमा लचकदार हुनाले गाडी गुड्दा थर्किने हुँदैन तर कंक्रिट सडकमा भने गाडी बढी थर्किन्छ ।
नेपालमा पछिल्ला वर्षहरूमा कंक्रिट सडकको निर्माण केही मात्रामा भइरहेको पाइन्छ । विशेष गरी पहाडी तथा सहरी क्षेत्रमा जहाँ पानी, हिलो र ट्राफिक दबाब बढी हुन्छ त्यहाँ कंक्रिट सडक दीर्घकालीन समाधान बन्न सक्छ । तर, ठेकेदारहरूको लापरवाही, गुणस्तरहीन सामग्रीको प्रयोग र समयमै अनुगमन नभएमा भने यस्ता सडकहरू छिट्टै बिग्रन्छन् । नेपालमा सडक, खानेपानी, ढलनिकास र विद्युत्को तारको पूर्वाधार एकैचोटि बनाउने गरिंदैन । जसले गर्दा यी विभिन्न सेवा पुर्याउन भर्खरै कालोपत्रे भएका सडक पनि फेरि भत्काउने गरेको पाइन्छ । उच्च लागत लागेको कंक्रिटको सडक भत्काउने र फेरि बनाउने गर्दा लागत धेरै महँगो पर्ने निश्चित छ । त्यसैले कंक्रिटको सडक बनाउँदा यो पक्षलाई पनि उत्तिकै ध्यान दिनु जरुरी छ । कुल मिलाएर हेर्दा कंक्रिट सडक दीर्घकालीन, टिकाउ र वातावरणमैत्री विकल्प हो, जसले आधुनिक पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । यस्ता सडकहरू निर्माण गर्दा गुणस्तर, सामग्री, डिजाइन र निगरानीप्रति ध्यान दिएमा यसको उपयोगिता अझ बढ्न सक्छ । त्यसैले सरकारले भूगोल, उपयोग र लागत हेरेर दुवै खाले सडकलाई प्राथमिकता दिने नीति लिनु उपयुक्त हुन्छ ।