कर तथा वित्तीय प्रयोजनका लागि राखिने लेखा फरकफरक हुनसक्छ । कर लेखांकनलाई करसम्बन्धी कानूनले निर्देशित गर्ने भएकाले कर लेखाङ्कनका सिद्धान्तहरू वित्तीय लेखाङ्कनका सिद्धान्तभन्दा फरक हुन सक्छन् । आयकर ऐनमा लेखाङ्कनको व्यवस्था उल्लेख भएकोमा सोहीबमोजिम (हिसाबकिताब) लेखा राखिन्छ । तर, ऐनमा लेखाङ्कनको व्यवस्था उल्लेख नभएको अवस्थामा भने नेपाल चार्टर्ड एकाउटेन्ट संस्थाबाट अवलम्बन गरिएको लेखामानको आधारमा वा कुनै अन्तरराष्ट्रिय मापदण्डका आधारमा वा आन्तरिक राजस्व विभागबाट तोकिएको आधारमा वा प्रचलित उत्तम अभ्यासको आधारमा लेखा राख्नुपर्ने कुरालाई आयकर नियमावलीले थप स्पष्ट गरेको छ ।
कुनै व्यक्तिले कुनै आय कहिले प्राप्त गर्छ र कहिले कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण गरी सोही आधारमा लेखाङ्कन गर्नुपर्छ । निकाय र प्राकृतिक व्यक्तिका लागि कर लेखा राख्नुपर्ने अनिवार्यता रहन्छ । कर छूट पाउने निकायले पनि कर लेखा राख्नुपर्छ । कर लेखाको उद्देश्य निकाय वा व्यक्तिसँग रहेका कोषहरूलाई जाँच गर्न सक्षम हुनु मानिन्छ । एक्रुयल आधारमा लेखाङ्कन गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सृजना हुनासाथ आम्दानीको लेखाङ्कन गरिन्छ भने खर्चको सन्दर्भमा भुक्तानी गर्नुपर्ने दायित्व सृजना हुनासाथ खर्चको लेखाङ्कन गर्नुपर्छ । यस्तै नगद आधारमा लेखाङ्कन गर्दा नगद भुक्तानी वा प्राप्त भएपछि मात्र लेखाङ्कन गरिन्छ ।
लेखाका सर्वमान्य सिद्धान्तमा अलग्गै संस्थाको अवधारणामा मौद्रिक मापन, परल मूल्य, दोहोरो पक्ष, आवधिक, एक्रुयल लेखा, अविच्छिन्न संस्था, मिलाना, वास्तविक ठोस आम्दानी, पारदर्शिता, एकरूपता आदि आउँछन् । लेखा राख्नुको उद्देश्य लेखालगायत कानूनी वा अन्य प्रमाणहरूको अभिलेख, नाफानोक्सानको पारदर्शिता, आर्थिक स्थितिको वास्तविकता र आर्थिक सूचनाहरूको आधारमा निर्णय कर्ताहरूलाई निष्कर्षमा पुग्न सहज होस् भन्ने ठानिन्छ ।
कर प्रयोजनका लागि प्राकृतिक व्यक्तिको रोजगारी तथा लगानीबाट प्राप्त आय नगद आधारमा लेखाङ्कन गर्न अनिवार्य गरेको छ भने व्यवसायको आय नगद वा एक्रुयल आधारमा राख्न सकिने व्यवस्था भने ऐच्छिक रहेको छ । तर, दफा १५ बमोजिम व्यापार मौज्दातको लागत खर्चहरूलाई भने एक्रुयल आधारमा नै लेखाङ्कन गर्नुपर्छ । निकायले कर प्रयोजनका लागि एक्रुयल आधारमा हिसाब राख्नुपर्छ । सरकारी लेखाप्रणाली नगदमा आधारित र व्यावसायिक लेखा भने नगद वा एक्रुयल दुवैमा आधारित छ । बैंकिङ व्यवसायका सम्बन्धमा भने अलग व्यवस्था गर्नसक्ने गरी नेपाल राष्ट्र बैंकलाई अधिकार दिएको छ । नेपाल राष्ट्र बैंक ऐन,२०५८ तथा बैंकिङसम्बन्धी प्रचलित कानूनको अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको त्यस्तो लेखाङ्कन पद्धतिलाई आन्तरिक राजस्व विभागले कर प्रयोजनका लागि मान्यता दिन सक्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनबमोजिम बैंकिङ व्यवसाय सञ्चालन गर्ने व्यक्तिले कर्जा लगानीमा एक्रुयल आधारमा ब्याज आम्दानी जनाउन सक्दैन ।
‘बैंकिङ व्यवसाय सञ्चालन गर्ने व्यक्तिले आफ्नो बक्यौता ऋणमा पाकेको ब्याजलाई नगदमा नै असुल गर्न नसकेको खण्डमा उक्त ब्याज रकमलाई मुलतबी हिसाबमा राख्नुपर्नेे’ नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । मुलतबीमा रहेको ब्याज रकम जुन समयमा नगद असुल हुन्छ सोही समयमा त्यस्तो ब्याजलाई आम्दानी जनाउनुपर्ने हुन्छ । यस्तै सहकारी संस्थाले पनि ब्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्ने व्यवस्था छ । यस व्यवस्थाले सहकारी संस्थाको ब्याज आय एक्रुयल वा नगद आधारमध्ये कुनै एक छान्न सक्ने विकल्प देखिन्छ ।
विभागबाट ‘प्रतिबद्धता देखाएको दायित्वको समयको लेखा प्रतिबद्धता देखाएको दायित्वलाई जुन समयमा उक्त कार्यक्रम घोषणा गरेको छ सोही समयमा खर्च लेख्नुपर्ने’ मिति २०६५/१०/२२ मा विभागबाट परिपत्र जारी भएको छ । आयकर निर्देशिकाले प्राकृतिक व्यक्ति वा २० जनाभन्दा कम साझेदार भएका साझेदारी व्यवसायको कर लेखाङ्कन गर्दा नगद वा एक्रुयल जुनसुकै आधारमा गर्न सक्ने स्पष्ट गरेको छ ।
नगद आधारमा लेखाङ्कन गरेका व्यक्तिले एक्रुयल आधारमा वा एक्रुयल आधारमा लेखाङ्कन गरेका व्यक्तिले नगद आधारमा लेखाङ्कन गर्न चाहेमा विभागले लेखाङ्कन पद्धति परिवर्तनको स्वीकृति दिन सक्छ ।
एकपटक अवलम्बन गरिएको लेखाङ्कन तरीकामा निरन्तरता हुनुपर्ने निर्देशिकामा व्यवस्था भए पनि पुनः लेखाङ्कन परिवर्तन गर्न नसकिने गरी ऐनमा किटानी व्यवस्था गरेको पाइँदैन । लेखाङ्कन परिवर्तन भएको स्वीकृति प्राप्त भएको अवस्थामा रकमहरू नछुट्ने वा नदाहोरिने गरी समायोजन गर्नुपर्छ । प्रोफेशनल व्यक्ति र अन्य करदाताले राख्नुपर्ने न्यूनतम लेखासम्बन्धी विभागबाट बेग्लाबेग्लै सार्वजनिक परिपत्रहरू जारी भएका छन् ।
नेपाली मुद्रामा बाहेक अन्य मुद्रामा अंकित गरिएको रकम प्राप्त गरिएको, खर्च गरिएको, दिएको, बुझाएको वा कर प्रयोजनका लागि अन्य कुनै किसिमले हिसाब गर्दाका बखत प्रचलित विनिमय दरअनुसार उक्त मुद्रालाई नेपाली रुपैयाँँमा परिवर्तन गर्नुपर्छ । उदाहरण : नगद आधारको लेखाङ्कनमा ‘क’ ले ५ जना अमेरिकी नागरिकलाई अमेरिकाबाट नेपाल आउने र नेपालका विभिन्न क्षेत्रमा १५ दिनसम्म घुमाउने गरी प्रतिव्यक्ति ५ हजार अमेरिकी डलरका दरले मिति २०७५/०४/०५ मा जम्मा २५ हजार डलर लिएको रहेछ । उक्त मितिमा नेपाल राष्ट्र बैंकले तोकेको प्रचलित विनिमय दर प्रतिअमेरिकी डलर १०० नेपाली रुपैयाँँ रहेछ भने २५ लाख नेपाली रुपैयाँँमा ‘क’ ले सोही दिनको आयमा समावेश गर्नुपर्छ । विदेशी मुद्रा भुक्तानी समयको आधारमा विनिमय नाफा वा नोक्सानी भए सोहीबमोजिम लेखाङ्कन गर्नुपर्ने व्यवस्था छ ।
कर कानूनको अभ्यास गर्ने क्रममा एक्रुयल आधारको लेखाङ्कन सम्बन्धमा कर कार्यालयविरुद्ध कृष्ण गोपाल अग्रवालको मुद्दामा तोकेको तरीकामा नराखेको लेखा मान्य नहुने फैसला भएको छ । खुमराज पुञ्जालीविरुद्ध प्राइम इन्टर नेशनलको मुद्दामा ‘कुनै आयवर्षमा प्राप्त हुनुपर्ने रकम प्राप्त भई नसकेको भए पनि त्यसै वर्षको आयमा समावेश गरिने भएकाले भुक्तानी प्राप्त गर्ने अधिकार सृजना भएपछि भुक्तानी प्राप्त गरेको मानी आय गणनामा समावेश गर्नुपर्ने’ भन्ने व्याख्या भएको छ ।
यस्तै निकायको हिसाब एक्रुयल आधारमा राख्नुपर्ने कानूनी व्यवस्था हुँदाहुँदै, नेपाल वायुसेवा निगमलाई कर्मचारीको पारिश्रमिकबापतको रकम (पेबल) ‘दिन बाँकी देखाएको र नदेखाएको भन्ने आधारमा अग्रिम कर कट्टी गर्नुपर्ने’ २०६४/०८/२५ मा परिपत्र जारी भएको छ । बद्रीकुमार प्याकुरेलविरुद्ध नेपाल नागरिक उड्डयन प्राधीकरण भएको मुद्दामा सर्वोच्च अदालतबाट ‘निवृत्तिभरण बापतको रकमलाई कुनै १ आर्थिक वर्षको रोजागारीबाट प्राप्त आय रकम जस्तो गरी कर लगाएको कुरा कानूनविपरीत भएको देखिने, त्यस्तो आयमा कर लगाउँदा प्रत्येक आयवर्षको आधारमा कर लगाउनुपर्ने’ फैसला भएको छ । जसले सबै अवस्थामा नगद आधारको रकम भुक्तानी भएको वा आय प्राप्त गरेको वर्षको आय मान्नुपर्ने कुरालाई अस्वीकार गरी समन्यायिक फैसला गरेको देखिन्छ ।
(लेखक कर तथा वाणिज्य कानून क्षेत्रमा विज्ञ अधिवक्ता हुन् । लेखकलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ ।)