विराटनगर । मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा २०० शय्याको ‘जीवन विकास सामुदायिक अस्पताल’ सञ्चालनमा आएको छ । करीब २ अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको यो अस्पतालको औपचारिक उद्घाटन जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
- अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलका अनुसार नेपालमै पहिलोपटक सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिसहित सेवा शुरू गरिएको छ ।
सर्वसाधारण नागरिकका लागि सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले जीवन विकास समाज र टेक्निकल एजुकेशन फाउन्डेशनले यो अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलका अनुसार नेपालमै पहिलोपटक सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिसहित एकैपटक २०० शय्याबाट सेवा शुरू गरिएको छ ।
२०५४ सालमा ‘गरीबीरहित नेपाल’ को परिकल्पनाका साथ स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्रका निम्न आयस्तर भएका समुदायका लागि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र वित्तीय सेवाका क्षेत्रमा काम गर्दै आएको छ । सोही अभियानअन्तर्गत मोरङको अमाहीबरियातीमा २४ घण्टे क्लिनिकबाट शुरू गरिएको स्वास्थ्य सेवा अहिले अत्याधुनिक सुविधासम्पन्न अस्पतालको रूपमा विकसित भएको हो ।
अस्पताल सञ्चालनमा ल्याउनुको उद्देश्य उपचार केन्द्र बनाउनु मात्र नभई सामाजिक न्याय र सबै नागरिकका लागि स्वास्थ्य पहुँचको समानता सुनिश्चित गर्नु रहेको मण्डलले बताए । उनका अनुसार अस्पतालले विपन्न वर्गका नागरिकलाई न्यूनतम शुल्कमा सेवा दिनेछ ।
करीब २० बिघा क्षेत्रफलमा फैलिएको अस्पतालले २४ घण्टा आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकद्वारा दैनिक ओपीडी सेवा, सामान्य तथा पेनलेस डेलिभरी, सामान्य र लेप्रोस्कोपिक शल्यक्रिया, बालरोग सेवा, एक्स–रे, अल्ट्रासाउन्ड, रेडियोलोजी, प्याथोलोजी लगायत सेवा प्रदान गरिरहेको छ ।
साततले भवनमा सञ्चालित यस अस्पतालको भुइँतलामा आकस्मिक सेवा, पहिलो तलामा ओपीडी, रेडियोलोजी र ल्याब सेवा, दोस्रो तलामा एनआईसीयू, पीआईसीयू, बाल तथा स्त्रीरोग वार्ड, तेस्रोमा जनरल वार्ड, चौथोमा २५ शय्याको आईसीयू, सीसीयू र एचडीयू र पाँचौं तलाबाट शल्यक्रिया कक्ष र पोस्ट–अप सेवा सञ्चालन गरिनेछ । अस्पतालले भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य पनि लिएको छ ।