काठमाडौं । लगानी बोर्ड नेपालले आसन्न तेस्रो लगानी सम्मेलनका लागि निम्तो पठाएकामध्ये बुधवारसम्म एक तिहाइ लगानीकर्ता तथा सम्बद्ध अधिकारीले सहभागिता पक्का गरेका छन् । बोर्डले १ हजार ३५५ जनालाई सम्मेलनमा आउन निम्तो पठाएकोमा ४६२ जनाले आउने पक्का गरे पनि यो सूचीमा विश्वचर्चित व्यवसायी छैनन् ।
वैशाख १६ र १७ गते काठमाडौंमा हुने उक्त सम्मेलनमा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको गुजरात पुगेका बेला त्यहाँका व्यवसायी गौतम अडानीलाई निम्ता गर्नेदेखि सरकारले विश्वचर्चित व्यवसायी एलन मक्स, भारतका धनाढ्य मुकेश अम्बानी, चीनका सफल उद्यमी ज्याक मा लगायतलाई पत्राचार गरेको थियो । बुधवारसम्ममा सम्मेलनका लागि आउने सूचीमा यी नाम नरहेको बोर्डका एक अधिकारीले जानकारी दिए ।
‘यो सूचीमा अहिलेसम्म परिचित सेलिब्रेटी व्यवसायी त कोही छैनन्,’ ती अधिकारीले भने, ‘नेपालको निम्ता स्वीकार गरेर आउनेको सूचीमा चीनबाट धेरै व्यवसायी छन् । चीनबाट आउनेमा लगानी गर्न खोज्ने खालका पनि छन् ।’ सहभागिता पक्का गर्नेमा चिनियाँपछि भारतीय छन् । ती अधिकारीका अनुसार भारतबाट आउने सूचीमा पनि अहिलेसम्म अम्बानी, अडानी, टाटाजस्ता चर्चित व्यवसायी छैनन् ।
‘हामीले निम्तो दिइसकेका छौं,’ ती अधिकारीले भने, ‘आउने कन्र्फमेशन गर्ने काम उहाँहरूको हो । उहाँहरू आफ्नै हिसाबले पनि आउन सक्नुहुन्छ अथवा आउनेभन्दा केही दिनअघि मात्रै नेपाललाई जानकारी गराउन पनि सकिने भएकाले अहिले आउने, नआउने भन्न सकिँदैन ।’
बोर्डका अनुसार सहभागिता पक्का गर्नेमा विभिन्न नियोगका प्रमुख, चेम्बर अफ कमर्सका पदाधिकारी, अन्तरराष्ट्रिय वित्तीय संस्थाका डेपुटीलगायत पदाधिकारी छन् । सम्मेलनमा ३६ देशका लगानीकर्ता र पदाधिकारी आउने तय भइसकेको छ । त्यसमा सबैभन्दा धेरै स्वदेशी व्यवसायी (१६१) छन् । त्यसपछि चीन, भारत, जर्मनीलगायत देशका छन् ।
सिंगापुर, मलेशिया, रसिया, फिनल्यान्ड, कोलम्बिया, क्यानडा, कतार, यूरोपेली संघ (ईयू), बेल्जियम, बहराइन, अस्ट्रियाबाट भने २ देखि ५ जनासम्म प्रतिनिधि आउने भएका छन् । भियतनाम, भानुआतु, टर्की, थाइल्यान्ड, स्वीट्जरल्यान्ड, श्रीलंका, साउदी अरेबिया, रोमानिया, मोरक्को, मौरिसस, साइप्रसबाट १/१ जना आउने पक्का भएको छ ।