काठमाडौं। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बजारको माग र ग्राहकको आवश्यकतालाई ध्यानमा राखी न्यून तथा मध्यम आय वर्गका लागि नयाँ बीमा योजना ‘ग्यारेण्टिड ग्रोथ प्लान’ बीमालेख ल्याएको छ । यस योजनाले थोरै रकम बचत गरी बीमालेख परिपक्व हुँदा बीमितलाई एकमुष्ट रकम प्राप्त गरी आफ्नो आर्थिक लक्ष्य हासिल गर्न मद्दत गर्ने र कथंकदाचित् बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने बताइएको छ ।
यस बीमालेख १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिले न्यूनतम ८ वर्ष तथा अधिकतम २५ वर्ष अवधिका लागि खरीद गर्न सक्नेछन् । यस बीमा योजनाअन्तर्गत न्यूनतम बीमांक रू. १० हजार तथा अधिकतम बीमांक रू. ५ लाखसम्म हुनेछ । यस बीमा योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता तथा इच्छाअनुसार वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा एकमुष्ट रूपले बीमाशुल्क तिर्न सक्नेछन् । यस योजनासँगै अतिरिक्त सानो रकम तिरेर एडीबी तथा एटीपीडी सुविधा पनि लिन सकिनेछ ।
यस बीमा योजनाको मुख्य विशेषता बीमालेखको अवधि भुक्तानीमा बीमांक रकम तथा बीमालेखको अवधिको आधारमा १० वर्षे अवधिसम्म रू. २५, १० देखि १४ वर्षे अवधिसम्म रू. ३५, १५ देखि १९ वर्षे अवधिसम्म रू. ४५ तथा २० वर्ष वा सोभन्दा माथिको अवधिमा रू. ५० प्रतिवर्ष प्रतिहजारको दरले ‘ग्यारेन्टेड रिटर्न’ दिइने बताइएको छ ।
यस योजनामा अवधि समाप्त हुनुभन्दा अगावै बीमालेख सक्रिय रहेको अवस्थामा बीमितको मृत्यु भए मूल बीमांक रकममा बीमालेखको अवधिको आधारमा बीमांक रकममा प्रत्याभूत गरिएको आय थप गरी एकमुष्ट भुक्तानी गरिने बताइएको छ ।