काठमाडौं । रोटरी क्लब अफ त्रिपुरेश्वरको ५०औं अन्तिम बैठक सम्पन्न भएको छ । शनिवार बैठकलाई सम्बोधन गर्दै २०२४–२५ का अध्यक्ष लता शर्मा बरालले आफ्नो कार्यकाल सुखद एवं स्मरणीय रहेको बताइन् । ‘एक दिन यस संस्थाको अध्यक्ष बन्छु भन्ने अठोट थियो, तर यति छिटो बन्छु भन्ने लागेको थिएन,’ संस्थाको नेतृत्वबारे उनले भनिन्, ‘मभन्दा वरिष्ठ र सक्षम व्यक्ति बाँकी हुँदै मलाई प्रस्ताव आयो । असहज परिस्थितिमा पनि अग्रजहरूले दिनुभएको हिम्मत, साथीहरूको साथ र घरपरिवारबाट हौसला प्राप्त भएपछि हिम्मत गरेँ,’ उनले भनिन् ।
हरेक कामको पूर्वतयारी गरियो भने कार्यान्वयन सहज हुनुका साथै नतीजा समेत राम्रो निस्कने रहेछ भन्ने आफ्नो अनुभवले देखाएको उनको भनाइ छ । विगतका योजनालाई निरन्तरता दिँदै आफ्नो कार्यकालमा केही कार्यक्रम अघि बढाउन सफल भएको उनले बताइन् । यसका लागि वार्षिक ‘टेबल’ क्यालेण्डर बनाइएको, जुन अति उपयोगी भएको उनले सुनाइन् । ‘वर्षभर नै सोही क्यालेण्डरलाई आत्मसात् गर्नाले सर्भिस प्रोजेक्टका साथै अन्य नियमित कार्य सम्पन्न गर्न सघाउ पुगेको छ,’ उनले भनिन् । अब आउने लगायत भविष्यका संस्थाको नेतृत्वले पनि यसको अनुसरण गर्नुपर्नेमा उनले जोड दिइन् ।
‘रोटरीमा लाग्दा केही समय, केही पैसा र कहिलेकाहीँ अमनचैन गुम्दो रहेछ, तर कार्यक्रमहरूमा जाँदा नयाँनयाँ साथीभाइ पाउनु आफैमा अमूल्य हो,’ नेतृत्वमा रहँदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘वृद्धाश्रमहरूमा जाँदा ती बाआमाको आँखामा आशीर्वाद झल्किन्ने गरेको महसूस गरेँ, विद्यालयहरूका कार्यक्रममा जाँदा साना भाइबहिनीको निश्छल माया पाइयो, स्वास्थ्य शिविर सञ्चालन गर्दा जीवनभरि डाक्टर नदेखेका मानिसको खुशी र मुस्कानले छुट्टै अनुभूति दिलायो ।’
कार्यक्रममा रोटरी इन्टरनेशनलको डिस्ट्रिक्ट गभर्नर इलेक्ट (२०२५-२६) विष्णुबहादुर कार्कीको उपस्थितिमा बरालले आफ्नो कर्तव्य पालनामा सहयोग गर्नेहरूलाई सम्मान गरिन् । कार्यक्रममा रोटरी त्रिपुरेश्वरका २०२५–२६ का अध्यक्ष भरतकुमार लकाईले आगामी दिनमा वर्तमान अध्यक्ष बरालले गरेका राम्रा कामहरूलाई अनुसरण गरेर लैजाने बताए । उनका अनुसार रोटरी क्लब समाजिक सेवामा अब्बल रहेको छ । आगामी दिनमा कार्यक्रमलाई अझ परिष्कृत गर्दै अघि बढाइने उनको भनाइ छ ।
संस्थाले पोलियो उन्मूलनलगायत स्वास्थ्यसम्बन्धी परियोजना, स्वच्छ खानेपानी र वातावरण, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । सन् १९०५ मा अमेरिकाबाट शुरू भएको रोटरी क्लब नेपालमा सन् १९५८ देखि शुरू भएको हो । हाल नेपालमा करीब ६ हजार जना रोटरी क्लबमा आबद्ध छन् ।