रसुवा । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । राजश्व छुटमा खरीद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ छ ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बायोङ सु मिनले आज (सोमवार) गाउँकार्यपालिकाको कार्यालय वडा नं ५ खाल्टेबगरमा आयोजित कार्यक्रममा एम्बुलेन्सको साँचो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरे । उक्त एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ ।
आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउन गाउँपालिकालाई अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदान गरिएको हो । कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म १७ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
कार्यक्रममा कम्पनीका सीईओ सु मिनले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिएर एम्बुलेन्स उपलब्ध गराइएको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग र समन्वय गरिदिन गाउँपालिका तथा स्थानीय बासिन्दाहरूसाग अनुरोध गरे । गाउँपालिकाका अध्यक्ष अर्यालले आयोजनाले सञ्चालन गर्ने कार्यक्रमहरू प्रभावित क्षेत्रका पालिकाहरूसँग समन्वय गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीको आयोजना रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायत संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
आयोजनाको समग्र भौतिक प्रगति ६३ प्रतिशत रहेको छ । आयोजनाको ९.५ किलोमीटर लामो सुरुङमध्ये ४०० मीटरमात्र खन्न बाँकी रहेको छ । आयोजनामा हाल कार्यरत करीब १ हजार जनशक्तिमध्ये ४० प्रतिशत आयोजना प्रभावित रसुवा जिल्लाका रहेका छन् ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियाली सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी (इक्विटी) रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् ।
आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षा याममा उत्पादन हुने छ । उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरीदविक्री सम्झौता भइसकेको छ ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अध्त्यधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य छ ।