काठमाडौं । अन्तरराष्ट्रिय विकास साझेदार वित्तीय संस्थाका प्रतिनिधिले कर्जा प्रवाह गर्दा वातावरण तथा सामाजिक जोखिमको मूल्यांकनलाई प्रभावकारी बनाउन नेपाली वित्तीय संस्थाहरूलाई सुझाव दिएका छन् ।
मंगलवार काठमाडौंमा शुरू भएको ‘नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५’ मा बोल्दै इन्टरनेशनल फाइनान्स कर्पोरशन (आईएफसी)का लगानी अधिकृत रविकान्त अग्रवालले इम्प्याक्ट र क्लाइमेट फन्डबाट लगानी भित्त्याउन केही शर्त तथा मापदण्ड पूरा गर्नुपर्ने बताए । ‘नेपालमा इम्प्याक्ट र क्लाइमेट इन्भेस्टमेन्टको अवसर छ,’ उनले भने, ‘यस्ता फन्डबाट स्रोत उपयोग गर्ने वित्तीय संस्था र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फन्डहरूले वातावरण तथा सामाजिक जोखिमको मूल्यांकन प्रभावकारी बनाउनुपर्छ ।’ उनले नेपाली बैंक, वित्तीय संस्थाहरूलाई पनि वातावरण तथा सामाजिक जोखिमको मूल्यांकनमा लगानी गर्न सुझाव दिए ।
नेपाल राष्ट्र बैंकले पहिलोपटक सन् २०१८ मा वातावरण तथा सामाजिक जोखिम मूल्यांकन (ईएसएमआर) मागदर्शन जारी गरेको थियो । त्यसलाई सन् २०२२ मा अद्यावधिक गर्दै १ करोड रुपैयाँभन्दा माथिको कर्जा प्रवाहमा अनिवार्य प्रयोग गर्नुपर्ने भने पनि प्रभावकारी प्रयोग हुन सकेको छैन ।
तर, विश्व बैंक, एशियाली विकास बैंक, अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)का साथै अन्तरराष्ट्रिय विकास साझेदार वित्त कम्पनीहरूले भने कर्जा प्रवाह गर्दा ईएसएमआरको मूल्यांकनमा कडाइ गर्दै आएका छन् । डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटहरूको उद्देश्य लगानी गरेर नाफा कमाउने मात्रै नहुने र उनीहरूले संस्थागत सुशासन, सामाजिक प्रभाव, पर्यावरणमैत्री लगानीहरूमा बढी जोड दिने भन्दै नेपाली कम्पनीहरूले पनि त्यसका लागि आफूलाई तयार गर्नुपर्ने इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) आयोजना निर्देशक बुद्धिका समरासिंगेले बताए ।
कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीले पछिल्लो समय तरलता सहज हुँदै गएपछि नेपाली बैंकहरूले विदेशबाट ऋण लिने क्रम घटेको बताए । ‘अहिले बैंकिङ प्रणालीमा तरलता सहज छ,’ उनले भने । ‘राष्ट्र बैंकले विदेशबाट ऋण लिन प्रोत्साहन गरे पनि त्यो बढ्न सकेको छैन ।’ वाणिज्य बैंकहरूमार्फत ७ खर्ब ४८ अर्ब रुपैयाँ बराबर विदेशी ऋण भित्रिएको भए पनि हाल ३ खर्ब रुपैयाँ हाराहारी मात्र लगानीमा रहेको उनले जानकारी दिए ।
ब्रिटिस इन्टरनेशनल इनभेस्टमेन्ट (बीआईआई), डच इन्टरप्रेनरल डेभलपमेन्ट बैंक (एफएमओ) र स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा इन्भेस्ट फर इम्प्याक्ट नेपाल, नेपाल बैंकर्स संघ र नेपाल प्राइभेट इक्विटी एशोसिएशनले फोरम आयोजना गरेका हुन् । १४ ओटा डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटहरू सहभागी रहेको कार्यक्रममा यस वर्ष ६ ओटा नयाँ संस्थाको सहभागिता छ ।
सम्मेलन डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटहरू तथा इम्प्याक्ट इन्भेस्टरहरू र लगानीकर्ताबीच छलफल गर्ने महत्त्वपूर्ण अवसर हुने आयोजकले बताएको छ । बिहीवारसम्म चल्ने सम्मेलनमा बुधवार सरकारी निकाय र विकास साझेदारहरूसँग दीर्घकालीन सहकार्य र लगानी प्रवद्र्धनका रणनीतिबारे छलफल हुँदै छ । कार्यक्रमको अन्तिम दिन सहभागी प्रतिनिधिका लागि स्थल अवलोकन कार्यक्रम राखिएको छ ।