चितवन । सरकारले जारी गरेको आर्थिक वर्ष (आव) २०८२/८३ को वार्षिक बजेटबारे चितवनका व्यवसायी बुधवार नारायणगढमा अन्तरक्रिया तथा समीक्षा गरेका छन् ।
बुधवार नारायणगढमा चेम्बर अफ कमर्शको आफ्नै कार्यालयमा उनीहरूले छलफल गरेका हुन् । सो अवसरमा चितवन चेम्बरका उपाध्यक्ष रुवीन रामुदामुले आगामी आवको बजेट शतप्रतिशत व्यवसायीमैत्री नभएपनि सन्तोषजनक रहेको बताए । उनले साना व्यवसायीलाई अझै पनि समेट्न नसकेको भन्दै युवालाई देशमै रहने र रोजगारी दिनुपर्नेमा जोड दिए ।
चेम्बरका अर्का उपाध्यक्ष सोमप्रसाद काप्रीले बजेट सोचेजस्तो नआएको र सबै क्षेत्रलाई समेट्न नसकेको बताए । चेम्बरका सदस्य निलेनमान शाक्यले बजेट सकारात्मक भए पनि सुनचाँदी व्यवसायीको हितमा नरहेको बताए । विभिन्न कर तथा दस्तुरका कारण यो व्यवसाय थप संकटमा पर्ने उनले बताए ।
कार्यक्रममा चार्टर्ड एकाउण्टेण्ट विशाल भट्टराईले बजेटको मुख्य विषयवस्तु प्रस्तुत गर्दै चालू आर्थिक वर्षको बजेट र आगामी आर्थिक वर्षको बजेटको तुलनात्मक रूपमा प्रस्तुतीकरण दिएका थिए ।