काठमाडौं। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय ‘सेल्स ट्रान्सफरमेशन सेसन’ सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सञ्चालक अग्रवालले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रूपमा रहेको र अहिले हासिल गरेको उपलब्धिभन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताए । जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहुँचलाई आम नागरिकबीच पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले आम नेपाली नागरिकबीच अझै पनि बीमासम्बन्धी सचेतना पर्याप्त रूपमा नपुगेको हुँदा बीमा बजारमा सम्भावना रहेको बताए । कम्पनीले इनोभेटिभ प्रोडक्ट मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्ट ल्याएर बीमा बजारको विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।