काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि निष्कासनमा ल्याएको पहिलो चरणको आईपीओमा मागभन्दा बढी आवेदन परेपछि वैशाख १९ गतेसम्म मात्र निष्कासन गरियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशतले हुने ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख १९ गतेसम्म निष्कासन अवधि तय गरेको कम्पनीले स्थानीयमा भने छिटो अवधि वैशाख १९ गते र ढिलो अवधि जेठ ३ गते तोकेको थियो । मागभन्दा बढी आवेदन परेकाले स्थानीयमा समेत वैशाख १९ गतेसम्म मात्र आईपीओ निष्कासन गरिएको हो ।
कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीबाट १२ लाख ६५ हजार २४० कित्ता र आयोजना प्रभावित स्थानीयबाट २३ लाख ६१ हजार १७० कित्ता शेयर खरीद माग भएको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार ५८ हजार २५ जना वैदेशिक रोजगारीमा रहेका नेपाली र ३ हजार ८६३ जना आयोजना प्रभावित स्थानीयले उल्लेखित कित्ता शेयर खरीद माग गरेका हुन् ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले ७ दशमलव ६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको छ भने ५ दशमलव २ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ ।
यो कम्पनी सञ्चित नाफामा सञ्चालन छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १० करोड ३८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा छ ।