काठमाडौं। नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा गत शुक्रवार सम्पन्न सभामा संघ र भारतमा कृषि अनुसन्धान तथा विकासको काम गर्ने कम्पनी एग्रिवाचबीच महत्त्वपूर्ण समझदारी भएको छ ।
समझदारीअनुसार उक्त कम्पनीले नेपालमा कृषि सूचना, विश्लेषण तथा परामर्श सेवा प्रदान गर्नेछ । खासगरी भू–उपग्रह प्रविधिको माध्यमबाट नेपालको कृषि क्षेत्रको वैज्ञानिक विश्लेषण गर्ने दिशामा पहिलोपटक निजीक्षेत्रबाट यसप्रकारको समझदारी गरिएको संघले बताएको छ ।
उक्त पहलले आगामी तीन वर्षभित्र नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने लक्ष्य हासिल गर्न समेत सघाउने विश्वास संघको छ । यसका लागि नेपाल सरकार, निजीक्षेत्र तथा अन्य सरोकारवाला निकायहरूको सशक्त सहकार्य आवश्यक हुने संघका अध्यक्ष कुमुद दुगडले बताएका छन् ।
संघ र उक्त कम्पनीबीच भएको समझदारी कार्यान्वयनले देशभरका कृषि वस्तुको मूल्य संकलन र दैनिक, साप्ताहिक तथा मासिक बजार विश्लेषण रिपोर्टमार्फत कृषक र व्यापारीलाई निर्णय गर्न सहयोग पुर्याउने बताइएको छ । यस्तै उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषणसहित बजार प्रवृत्तिको जानकारी, बीउ, मल लगायतका कृषिका लागि आवश्यक वस्तुबारे अध्ययन र कृषकलाई उपयुक्त बाली छनोटमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी एआई आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श र डिजिटल बजार जडान सेवामार्फत कृषकलाई प्रविधिमा सशक्तीकरण गर्ने, ताजा कृषि समाचार, वस्तु मूल्य र बजार रिपोर्ट प्रकाशित गरी अद्यावधिक जानकारी उपलब्ध गराउने समझदारीपत्रमा उल्लेख छ । नेपालको खाद्य सुरक्षाका लागि यस्तो सहकार्य महत्त्वपूर्ण भएको र देशलाई गहुँजस्ता खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने संघले बताएको छ ।