काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरूका लागि चिनियाँ भाषा प्रशिक्षण शुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं ब्याचको औपचारिक उद्घाटन गरेका हुन् ।
नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरूलाई लक्षित गर्दै शुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषाको प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, 'चिनियाँ भाषाको ज्ञानले नेपाल-चीन सम्बन्धमा सेतुको काम गर्नेछ र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु ।'
चिनियाँ भाषाको अनुवादक हुनु भनेको शीपयुक्त जनशक्ति निर्माण हुनु पनि भएको उल्लेख गर्दै उनले थपे, 'चिनियाँ भाषाको प्रशिक्षण लिनेहरू सांस्कृतिक दूतको रुपमा काम गर्न सक्नुहुन्छ । यसले पर्यटन विकासमा सहयोग पुर्याउने र स्वरोजगार पनि बनाउँछ ।'
मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँहरूलाई नेपालको प्रकृति हेर्नका लागि आह्वानसमेत गरेका छन् । उनले भने, 'चीनले नेपाल पर्यटन वर्षसमेत घोषणा गरेकाले म चिनियाँ साथीहरूलाई नेपालको प्रकृति हेर्न आउनका लागि पनि आग्रह गर्दछु । नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ ।'
चिनियाँ भाषा प्रशिक्षणका अहिलेसम्मका ६ ओटा ब्याचबाट २४० जना प्रशिक्षित भइसकेका छन् ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठका अवसरमा सातौं भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् ।