काठमाडौं । नेपालमा पनि ग्रीन बण्ड (हरित ऋणपत्र) जारी हुने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैशाख ३० गते नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई ५ अर्ब रुपैयाँ बराबरको ग्रीन बण्ड जारी गर्न अनुमति प्रदान गरेको हो । अब निफ्राले सात वर्ष अवधिको ६ प्रतिशत ब्याजदर रहेको निफ्रा हरित ऊर्जा ऋणपत्र ०८८/८९ नामक ऋणपत्र निष्कासन गर्नेछ ।
यस्तो ऋणपत्र निष्कासनका लागि अनुमति पाउनेमा निफ्रा नेपालको पहिलो कम्पनी भएको बोर्डको भनाइ छ ।
यो ऋणपत्र निष्कासनबाट संकलित रकम पर्यावरणमैत्री परियोजना सञ्चालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास बोर्डको छ ।
निफ्राले जारी गर्ने ग्रीन बण्ड निष्कासन तथा विक्री प्रबन्धकमा भने एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको जानकारी बोर्डले दिएको छ । निफ्राले ग्रीन बण्ड जारी गर्न नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति पाइसकेको छ ।