काठमाडौं । मंगलवार कुल बजार पूँजीकरण ४३ खर्ब ८१ अर्ब ९४ करोड ४१ लाख रुपैयाँमा झरेको छ । यो साताको पहिलो कारोबार दिनदेखि निरन्तर बजार घट्दा कुल बजार पूँजीकरण घट्न पुगेको हो ।
सोमवार सार्वजनिक बिदाका कारण बजार बन्द थियो भने आइतवारको कारोबारमा कुल बजार पूँजीकरण ४४ खर्ब ६ अर्ब ६८ करोड १५ लाख रुपैयाँ कायम थियो । मंगलवार घटेको बजारमा कुल बजार पूँजीकरण २४ अर्ब ७३ करोड ७४ लाख रुपैयाँले घटेको हो ।
गत बिहीवारदेखि नै बजार घटिरहेको छ । बिहीवार १२ दशमलव शून्य ४ अंकले घटेको बजार आइतवार १२ दशमलव ५३ अंक र मंगलवार १४ दशमलव ८७ अंकले घटेको हो ।
मंगलवार ७७ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १६८ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य भने स्थिर रही आइतवार कायम अन्तिम शेयर मूल्य १ हजार ४८९ रुपैयाँ नै कायम भएको हो ।
नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय अन्योल बन्दा धितोपत्र बजारका लगानीकर्ता पनि अन्योल बनेको देखिन्छ । साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूँजी बजारका विषय खासै नसमेटिएकाले बजेटले पनि धेरै कुरा नसमेट्ने आशंका लगानीकर्ताको छ ।
यो दिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य भने १० प्रतिशत बढेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता २०३ रुपैयाँ १० पैसाले बढेको हो भने ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य प्रतिकित्ता ४७ रुपैयाँ ८० पैसाले बढेको हो ।
यसअघि निरन्तर सर्किट लेभलमा मूल्य बढ्दै आएको नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य वृद्धिमा भने मंगलवार ब्रेक लागेको छ । यो दिन यस कम्पनीको शेयर मूल्य सर्वाधिक ६ दशमलव २२ प्रतिशतले घटेको हो । प्रतिकित्ता १५२ रुपैयाँ ९० पैसाले घटेर नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता २ हजार ३०४ रुपैयाँ ७० पैसा कायम भएको छ ।
मंगलवार कारोबार रकम भने ९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रहेको छ । कारोबार रकम पनि अघिल्लो कारोबार दिनभन्दा कम भएको हो । अघिल्लो कारोबार दिन आइतवार १० अर्ब २० करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो ।
कुल कारोबारमा युनिभर्सल पावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो कम्पनीको ६७ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता १५ रुपैयाँ ५ पैसाले बढेर अन्तिम मूल्य ४३८ रुपैयाँ ७० पैसा कायम भएको छ । यो दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ९५ प्रतिशत बढेको छ । योसँगै विकास बैंकको शून्य दशमलव ८८ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३४ प्रतिशत परिसूचक बढेको छ ।
यस दिन व्यापारिक समूहको परिसूचक भने सर्वाधिक २ दशमलव ४६ प्रतिशत घटेको छ । २ प्रतिशतभन्दा बढी परिसूचक घट्नेमा यो दिन होटल तथा पर्यटन समूह पनि रहेको छ । होटल तथा पर्यटन समूहको परिसूचक २ दशमलव २१ प्रतिशत घटेको हो ।