नेशनल एग्रीकल्चर एण्ड फरेष्ट्रीको थोपा सिँचाइ प्रविधि
अभियान संवाददाता
नेशनल एग्रीकल्चर एण्ड फरेष्ट्रीले थोपा सिँचाइ प्रविधि शुरू गर्ने भएको छ । सरकारले कृषि औजारमा १ प्रतिशत भन्सार शुल्क लगाउने भने पनि अहिलेसम्म ३० प्रतिशत कायम रहेकाले थोपा सिँचाइ प्रविधि अन्योलमा परेको थियो । भन्सार शुल्कमा सहुलियत दिएमा छिट्टै विक्री शुरू गर्ने प्रबन्ध निर्देशक गौतम महर्जनले जानकारी दिए ।
यसले थोपा सिँचाइ प्रविधिमा ‘नेटाफिम’ ब्राण्डका औजार विक्री गर्ने तयारी गरेको हो । यस्तो प्रविधिबाट एकतिहाइसम्म उत्पादन बढ्न सक्छ । प्रविधिअनुसार ट्याङ्कीमा जम्मा गरिएको पानी पाइपको माध्यमबाट बिरुवासम्म पु¥याइन्छ । पाइपमा रहेका ससाना प्वालबाट पानी बाहिर आउँछ । यस्तो प्रविधिबाट सिँचाइ गर्दा पानी बिरुवामा मात्र पुग्ने तथा थोरै पानीले धेरै सिँचाइ गर्न सकिने महर्जनको भनाइ छ । कम्पनीले केही वर्षपहिले परीक्षणका लागि ल्याएको यो प्रविधि सफल भएपछि अहिले व्यावसायिक रूपमै विक्री गर्ने तयारी गरेको हो । यसका लागि सरकारी निकायसँग छलफल भइरहेको उनले बताए । उक्त आधुनिक पाइपमा पहिलो र अन्तिम प्वालबाट बराबर पानी बाहिर निस्किने महर्जन बताउँछन् ।
फलफूल, तरकारीलगायत अन्य बालीमा पनि यस्तो प्रविधिबाट सिँचाइ गर्न सकिन्छ । इजरायली कम्पनी नेटाफिमले विश्वमै पहिलोपटक थोपा सिँचाइ प्रविधि शुरू गरेको हो । हाल यसले १ सय २० ओटा देशमा थोपा सिँचाइ प्रविधि निर्यात गर्दै आएको छ । नेपालमा यसको बजारमूल्य २७ हजार रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीले खाद्यान्न भण्डारण गर्न प्रयोग गरिने सुपरग्रेन ब्यागको समेत विक्री गरिरहेको छ । सुपरग्रेन ब्यागमा खाद्यान्न भण्डारण गर्दा रासायनिक विषादीको प्रयोग नगरी खाद्य तथा बीउमा लाग्ने कीरा, मुसा र ढुसीबाट जोगाउन सकिन्छ । सुपरग्रेन ब्यागमा भण्डारण गर्दा बीउ तथा खाद्यवस्तुको रङ, स्वाद र गुणस्तरमा कुनै कमी नआउने महर्जन बताउँछन् ।
सुपरग्रेन ब्यागमा ५० किलोग्रामदेखि ८० किलोग्रामसम्म भण्डारण गर्न सकिन्छ । कम्पनीले यस्ता ब्याग फिलिपिन्सबाट आयात गर्छ । यो प्रविधिलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), बीउ विज्ञान प्रविधि महाशाखा, बाली विज्ञान निर्देशनालय, कीट विज्ञान निर्देशनालयलगायत संस्थाले प्रमाणित गरिसकेको उनको भनाइ छ । कम्पनीले नेपालमै उत्पादित विभिन्न तरकारीको बीउ तथा आयातित बीउहरूको पनि विक्री गर्छ । त्यस्ता बीउ जापान, इटाली, थाइल्याण्ड, भियतनामलगायत देशबाट आयात गर्ने महर्जनले बताए । यसले बिरुवाबाट उत्पादन तथा उत्पादकत्व बढाउन सहयोग गर्ने हार्मोन तथा विषादीको पनि विक्री गर्छ ।
कम्पनीले यी विषादी चीन, भारत तथा हार्मोन स्पेन, चीन र भारतबाट आयात गर्छ । कम्पनीले ललितपुरको गोदाबरीमा कृषि ट्रेनिङ सेण्टरसमेत सञ्चालन गरिरहेको छ । ट्रेनिङ सेण्टरबाट कृषि तथा पशुपालनसम्बन्धी विभिन्न तालीम दिइने महर्जनले बताए । नेशनल एग्रीकल्चर एण्ड फरेष्ट्री सन् २००० मा स्थापना भएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.