काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभा मकवानपुरको हेटौंडामा हुने भएको छ । शुक्रवार र शनिवार हुने उक्त साधारणसभाको सबै तयारी पूरा भएको महासंघले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
महासंघ अध्यक्ष रवि सिंहले साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जानकारी दिए । मकवानपुर निर्माण व्यवसायी संघको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ११ सयभन्दा बढी निर्माण व्यवसायी सहभागी हुने बताइएको छ । ५०० जति पर्यवेक्षक रहने उनकोभनाइ छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले सार्वजनिक खरीद नियमावलीको १३औं संशोधन सकारात्मक भएको बताए । ‘तर म्याद थपले मात्र निर्माण उद्योगमा देखिएको समस्या समाधान हुँदैन,’ उनले भने, ‘निर्माण उद्योगमैत्री ऐन, कानून आजको आवश्यकता हो । सरकारले अब व्यवसायीलाई बाँकी रहेको भुक्तानी दिई अर्थतन्त्र चलायमान बनाउनुपर्छ ।’
महासंघका सल्लाहकारसमेत रहेका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण उद्योगको समस्यालाई राज्य, सञ्चारजगत कसैले बुझ्न नसकेको टिप्पणी गरे । म्याद थप हुँदा व्यवसायीलाई नै घाटा हुने भन्दै म्याद थपलाई उपहारको रूपमा नबुझ्न उनले आग्रह गरे । निर्माण उद्योगमा देखिएको चुनौतीबारे घनीभूत छलफल हुन आवश्यक भएको भन्दै यसको विकास विस्तारका लागि साधारणसभाले गरेका निर्णय लिपिबद्ध गरी घोषणापत्र जारी गरिने महासंघले जानकारी दिएको छ ।
उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल लगायत उपस्थित हुने महासंघको भनाइ छ । उद्घाटन सत्रमा ‘निर्माण विशेषांक’ स्मारिका विमोचन गर्ने कार्यक्रम छ ।
निर्माण उद्योगको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने अग्रज निर्माण व्यवसायीलाई उद्घाटन सत्रमा सम्मान गर्ने महासंघको तयारी छ । सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ ओटा स्टल पनि राखिने बताइएको छ ।