काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई ५ अर्ब रुपैयाँ बराबरको हरित ऋणपत्र (ग्रीन बन्ड) जारी गर्न अनुमति दिएको छ ।
सातवर्षे अवधिको ६ प्रतिशत ब्याजदर रहेको निफ्रा हरित ऋणपत्र ०८८/८९ नामक ग्रीन बन्ड निष्कासनका लागि बोर्डले मंगलवार निफ्रालाई अनुमति दिएको हो । निफ्रा यस्तो ऋणपत्र जारी गर्न पाउने पहिलो कम्पनी बनेको छ ।
५ अर्ब रुपैयाँको ग्रीन बन्डमध्ये २ अर्ब रुपैयाँ बराबरको सर्वसाधारणमा विक्री गरिने र ३ अर्ब रुपैयाँ बराबरको व्यक्तिगत तवरबाट विक्री हुनेछ । यो ऋणपत्र निष्कासनबाट संकलित रकम पर्यावरणमैत्री परियोजना सञ्चालनका साथै दिगो विकासका काममा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास बोर्डको छ ।
- सात वर्ष अवधिको ६ प्रतिशत ब्याजदर रहेको निफ्रा हरित ऋणपत्र जारी हुने
- ५ अर्ब रुपैयाँको ग्रीन बन्डमध्ये २ अर्ब रुपैयाँ बराबरको सर्वसाधारणमा र ३ अर्ब रुपैयाँ बराबरको व्यक्तिगत तवरबाट विक्री हुने
- धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा ग्रीन बन्ड जारी गर्नेसम्बन्धी व्यवस्था
- ग्रीन बन्ड जारी हुँदा नेपालको पूँजीबजारको भूमिका विस्तार हुने
निफ्राले जारी गर्ने ग्रीन बन्ड निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको बोर्डले जानकारी दिएको छ । निफ्राले ग्रीन बन्ड जारी गर्न नेपाल राष्ट्र बैंकबाट यसअघि नै स्वीकृति पाइसकेको छ ।
निफ्राले जारी गर्ने ग्रीन बन्डले नेपालको अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्ने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । ग्रीन बन्ड जारी हुँदा नेपाली पूँजी बजारको भूमिका विस्तार हुने र यो बजारको विस्तारले सरकारलाई दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सहयोग मिल्ने अपेक्षा प्रवक्ता घिमिरेको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधनमार्फत ग्रीन बन्ड जारी गर्न सक्ने व्यवस्था गरेको थियो ।
चालू आर्थिक वर्षको बोर्डको नीति तथा कार्यक्रममा पनि हरित बन्ड, ऊर्जा बन्डलगायत अन्य नवीन वित्तीय औजारहरूको निष्कासन तथा कारोबारको सहज एवं भरपर्दो व्यवस्था गर्न आवश्यक कानूनी व्यवस्था गर्ने उल्लेख छ । निफ्राले ग्रीन बन्डअन्तर्गत ऊर्जा ऋणपत्र जारी गर्न अनुमति पाएको प्रवक्ता घिमिरेले स्पष्ट पारेका छन् ।
धितोपत्र बजारमा ऋणपत्रको बजार विस्तार भइरहँदा ग्रीन बन्डले विविधता ल्याउने दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का सूचना अधिकारी मुराहरि पराजुलीको भनाइ छ । हाल ७४ कम्पनीहरूको ऋणपत्र सूचीकृत भई कारोबार हुँदै आएकोमा ६ प्रतिशत ब्याजदर रहेको निफ्राको ग्रीन बन्डप्रति लगानीकर्ताको आकर्षण बढ्ने विश्वास उनले व्यक्त गरे । वाणिज्य बैंकहरूले प्रदान गर्ने औसत ब्याजदरभन्दा बढी ब्याजदर निफ्राको ग्रीन बन्डले दिने भएकाले लगानीकर्ताको आकर्षण बढ्ने विश्वास पराजुलीले व्यक्त गरेका हुन् ।
नेपालको सन्दर्भमा ग्रीन बन्ड निकै सान्दर्भिक रहेको मर्चेन्ट बैंकहरूको भनाइ छ । जलवायु तथा पर्यावरणमैत्री पूर्वाधार, जलविद्युत् तथा नवीकरणीय ऊर्जा, वातावरणमैत्री यातायातसँगै जलस्रोतको संरक्षणमा समेत यस्ता रकम लगानी गरी परियोजना सफल पार्न सकिने मर्चेन्ट बैंकरहरूको भनाइ छ । एक मर्चेन्ट बैंकरले नाम उल्लेख नगर्ने शर्तमा ऋणपत्रमा समेत ग्रीन बन्डले विविधीकरण गर्ने बताए । बोर्डले यस्ता बन्ड निष्कासनका लागि अनुमति दिने मात्र होइन निष्कासनपछि पूँजी परिचालनका विषयमा पनि निगरानी राख्नुपर्ने सुझाव ती मर्चेन्ट बैंकरले दिए ।
के हो ग्रीन बन्ड ?
नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गर्न जारी गरिने ऋणपत्रलाई ग्रीन बन्ड भन्न सकिन्छ । गीन बन्ड वातावरण र जलवायुमा सकारात्मक योगदान पुर्याउन वित्तीय योजनाका लागि जारी गरिने एक ऋणपत्र हो । प्राकृतिक तथा वातावरणीय क्षेत्रमा लगानी गर्ने गरी जारी गरिने यस्तो बन्डले मुलुकको दिगो आर्थिक विकाससँगै पर्यावरणीय संरक्षणमा समेत सकारात्मक भूमिका खेल्छन् । सन् २००७ मा यूरोपेली लगानी बैंकले पहिलोपटक ग्रीन बन्ड जारी गरेको इतिहास छ ।
त्यसपछि सन् २००८ मा विश्व बैंकले र सन् २०१४ मा जापानको विकास बैंकले ग्रीन बन्ड जारी गरेको पाइन्छ । नेपालमा भने ग्रीन बन्ड पहिलोपटक जारी हुन लागेको धितोपत्र बोर्डको भनाइ छ ।