काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागेको सरकारले नुन विक्री वितरणको जिम्मा साल्ट ट्रेडिङलाई दिन लागेको चर्चाबीच त्यसो नगर्न सरोकारवालाले सचेत गराएका छन् । उनीहरूले साल्ट ट्रेडिङले अत्यावश्यक वस्तु नुनको विक्री वितरण अत्यन्त प्रभावकारी तवरमा गरेको भन्दै उसको जिम्मेवारीमा आँच आउने गरी कुनै काम नगर्न सरकारलाई आग्रह गरेका हुन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा पत्रकारसँग उपभोक्ता सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले निजी क्षेत्रको एकाधिकार सबैतिर गराइए त्यसको मारमा उपभोक्ता पर्ने बताए । उनले नुन वितरण साल्ट ट्रेडिङले प्रभावकारी रुपमा गरिरहेको बताए ।
‘निजी क्षेत्रको एकाधिकार भएमा उपभोक्ता मारमा पर्छन् । त्यसैले स्वस्थ प्रतिस्पर्धा हुनु आवश्यक छ । कार्टेलिङका कारण उपभोक्तालाई मारमा पर्न नदिन यस्ता संस्थानहरुको स्थापना भएको हो । साल्ट ट्रेडिङले जसरी काम गरेको छ, त्यो मोडालिटी ठिक छ । निजी क्षेत्रको स्वामित्व यसमा बढी हुँदा निर्णयहरू चाँडो भई काम गर्न सहज हुन्छ,’ उनले भने । सुपथ मूल्यको पसल सञ्चालनका कारण जनतालाई सहज भए पनि सरकारले त्यसको रकम ‘रिफन्ड’ नगरेको बताउँदै उनले त्यसको समाधान गर्न जोड दिए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नुनको गुणस्तरमा समस्या भए उजुरी गर्नुपर्ने बताए । ‘नुनमा आयोडिनको मात्रा धेरै भएको भन्ने कुरा बजारमा सुनिन्छ । यदि, त्यस्तो समस्या छ भने उजुरी गर्नुपर्छ । अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भने ।
स्वास्थ्य सेवा विभागका सिनियर पब्लिक हेल्थ अफिसर दीपक झाले विदेशी अनुदान रोकिँदा नुनमा आयोडिनको मात्राबारे अनुसन्धान रोकिएको बताए । नुनमा आयोडिनको मात्राबारे वास्तविक अवस्था थाहा पाउन अध्ययन नै गर्नुपर्ने भएकाले अहिले यसमा केही भन्न नसकिने उनको भनाइ छ । यसमा सम्बन्धित निकायको ध्यान पुगेको उनको भनाइ छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरदविक्रम राणाले पनि उपभोक्ता सुरक्षामा गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘बाहिर उपभोक्ता सुरक्षाका सवालमा मृत्युदण्डसम्मका सजाय हुन्छन् । नेपालमा पनि उपभोक्ता सुरक्षाको सवालमा उपयुक्त कानून ल्याउन आवश्यक छ ।’
साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र आयल निगमसँग भविष्यमा सहकार्य गर्न सकिने बताउँदै उनले अव्यवस्थित एवम् अस्वस्थ बजार प्रतिस्पर्धालाई कम गर्न साल्ट ट्रेडिङको स्थापना भएको बताइन् । साल्ट ट्रेडिङले गहुँको बिउ उत्पादन, रासायनिक मल आयात र विक्री वितरण, घर दुर्गम जिल्लामा भूकम्प प्रतिरोधी घर निर्माण, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रसँग सहकार्यकारी गरी औषधिजन्य जडीबुटीको उत्पादन र बिक्री वितरण गरेको उनले जानकारी गराइन् । साल्ट ट्रेडिङले जनक शिक्षा सामाग्रीलाई समयमा नै पुस्तक उपलब्ध गराउँदा उसले समयमै दुर्गम क्षेत्रमा शैक्षिक सामग्री पुर्याउन सकेको उनले बताइन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले साल्ट ट्रेडिङले नुन विक्री वितरणमा अत्यन्तै प्रभावकारी काम गरेको बताए । अहिले विभागले एमआरपी लागू गर्ने गरी काम गरिरहेको उनको भनाइ छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले साल्ट ट्रेडिङको विगत, वर्तमान र भविष्यबारे कार्यपत्र कार्यपत्र प्रस्तुति दिँदै गर्भवती, वयस्क, सुत्केरीलगायतका लागि छुट्टाछुट्टै नुन ल्याउने विषयमा सरकारले नै अग्रसरता देखाउनुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नुन विक्री वितरणको जिम्मा साल्ट ट्रेडिङलाई दिइएको जिम्मेवारी आगामी दिनमा निजी क्षेत्रलाई दिइने भन्ने बारेमा फैलिएको अफवाहका पछि नलाग्न पनि उनले आग्रह गरे । यद्यपि, साल्ट ट्रेडिङको व्यवसायीकता र विविधीकरणको पाटोमा भने हेरविचार गर्न सकिने उनले बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले पनि उपभोक्ता सुरक्षामा जोड दिदै उपभोक्ता सुरक्षाका विषयमा उठेका अन्योलता चिनुपर्ने बताए । साल्ट ट्रेडिङले आयल निगमसँगको सहकार्यमा एलपी ग्यास विक्री गर्दै आएको बताउँदै उनले अहिले एउटा मात्र प्लान्टबाट ग्यास विक्री गरिरहेकोले आगामी दिनमा हरेक प्रदेशमा एउटा प्लान्ट स्थापना गर्न सके ग्यास अभाव भएको समयमा सहज हुने बताए ।
नेपाल आर्थिक पत्रकार संघकी अध्यक्ष मेनुका कार्कीले अत्यावश्यक वस्तुको विक्री वितरणमा साल्ट ट्रेडिङले गर्दै आएको व्यावसायीक कुशलताका लागि कृतज्ञता व्यक्त गर्दै बजार मूल्य नियन्त्रणमा समेत महत्त्पपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।