काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । बालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्दै उनले बैङ्क तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । उनले भने, “हामीले केवल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।”
सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिको व्यवस्था अवलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताए । राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे ।
राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्न राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ । डा पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यसलगत्तै उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थ मन्त्रालयमा भेटवार्ता गरेका थिए । रासस