काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको उपकुलपति सिफारिश गर्न ३ सदस्यीय समिति गठन गर्नुभएको छ ।
शिक्षामन्त्री तथा त्रिविका सहकुलपति रघुजी पन्तको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयले आज (मङ्गलवार) राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले सदस्य रहेको समिति गठन गरेको हो ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तत्कालीन मन्त्रिपरिषद्ले उपकुलपति नियुक्त गरेका डा. केशरजंग बरालले पदबाट राजीनामा दिएपछि त्रिवि नेतृत्त्वविहीन रहेको छ ।
कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका उपकुलपति प्रा.डा. बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत गरी शिक्षाध्यक्ष प्रा.डा. केसीलाई बढीमा ३ महिनाका लागि गत वैशाख २ गते उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।