काठमाडौं । गभर्नर सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।
मंगलवार अपराह्न बसेको समितिको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि अर्थविद् विश्व पौडेल, कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको हो ।
आजै ६ बजे बस्ने मन्त्रिपरिषद बैठकले तीनजनामध्येबाट एक जनालाई गभर्नर नियुक्त गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिबीच अर्थविद् पौडेललाई गभर्नर बनाउने सहमति भएको बताइएको छ ।
यसअघि गभर्नर सिफारिस समितिमा रहेका उनले आफूलाई गभर्नर बनाउने संकेत पाएपछि समिति सदस्य पदबाट राजीनामा दिएका थिए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिमा यसअघिका गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।
सरकारले गभर्नर सिफारिसका लागि गत चैत १० गते पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो । त्यसयता समिति दुई पटक पुनर्गठन भइसकेको छ ।