काठमाडौं । विभिन्न क्षेत्रमा उत्कृष्ट उद्यमी बनेका महिला उद्यमीलाई सम्मान गर्दै न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२४’ को चौथो संस्करण शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिले उद्यमशीलतामा लागेका महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको कदर गर्न हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड यो समिट तथा अवार्डस् कार्यक्रमको शुरूदेखि नै मुख्य प्रायोजकका रूपमा रहँदै आएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय स्तरमा र प्रादेशिक तहमा उत्कृष्टता प्राप्त गर्ने महिला उद्यमीलाई अवार्ड वितरण गरिएको थियो । ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड इन वुमन इन्ट्रेप्रेन्युअरशीप अवार्ड’सहित विभिन्न ६ विधामा राष्ट्रिय स्तरमा महिला उद्यमीलाई अवार्ड तथा नगद रकमसहित सम्मान गरिएको थियो ।
यस्तै ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा भने सातै प्रदेशका एक–एक जना महिला उद्यमीलाई अवार्डका साथै जनही ५१ हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिएको छ । देशको नीतिनियमको पालना, समाज र अर्थतन्त्रमा योगदान, सार्वजनिक छवि र नवीनता तथा प्रविधि प्रयोगको आधारमा उत्कृष्ट महिला उद्यमी स्वतन्त्र निर्णायकमण्डलबाट छानिएको आयोजकले जानकारी दिएको छ ।
उक्त समारोहमा ‘स्ट्रेन्देनिङ वुमन्स बिजनेश लिडरसिप’ मूल विषयमा रहेर सामूहिक छलफलसमेत भएको थियो ।
उक्त अवसरमा सर्वाेच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले महिला कहाँ छन्, के गर्न सक्छन् र भनेर अस्तित्व नै खोज्नुपर्ने भाष्यबाट अहिले महिलाले के गर्न सक्दैनन् सम्म आइपुगेको बताइन् । महिला टेम्पो चालकदेखि सेना, पाइलटदेखि राष्ट्राध्यक्ष, प्रधानन्यायाधीशसम्म मुलुकमा बनिसकेको सुनाउँदै उनले भनिन्, ‘यति उपलब्धि मात्रै पर्याप्त छैन, परनिर्भर नागरिकबाट आत्मनिर्भर बन्ने महिलाको अभियानमा थप सशक्त हुन जरुरी छ ।’
२०५३ सालमा महिला पनि समान सम्पत्तिका हकदार हुन् भनेर आवाज उठाइएको र अहिले सबै अवस्थाका महिलाको सम्पत्तिमा स्वामित्व राम्ररी बढेको उनले उल्लेख गरिन् । अहिले ३७ प्रतिशत महिलाको नाममा सम्पत्ति र जग्गा रहेको भन्दै उनले कानून, नीति र कार्यक्रम पनि उत्तिकै आवश्यक रहेको यसबाट पुष्टि भएको बताइन् ।
‘महिलालाई थप सशक्तीकरण गर्न कानून पनि छन् र समयसापेक्ष संशोधन पनि भएका छन्,’ उनले भनिन्, ‘यद्यपि कानूनमा भएका कुरा थाहा नभएर प्रयोग र उपयोग हुन सकेका छैनन् । महिला उद्यमीलाई कस्तो खालको सहयोग गर्ने, बैंकले कसरी सहयोग गर्ने भन्ने कार्यक्रम ल्याउन महत्त्वपूर्ण हुन आउँछ ।’
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले न्यू बिजनेश एजले निरन्तर ४ वर्षदेखि यो कार्यक्रम गर्दै आउनु आफैमा सकारात्मक भएको बताए । वित्तीय समावेशीकरण केन्द्रीय बंैकको प्राथमिकतामा रहेको भन्दै उनले महिलाको सहभागिता र पहुँच वित्तीय क्षेत्रमा बढ्दो क्रममा रहेको बताए । ‘केन्द्रीय बैंकले व्यवस्थापन गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत १ लाख २६ हजारभन्दा बढी ऋणी छन्, त्यसमध्ये करीब ७५ हजार त महिला ऋणी मात्र छन् भने बैंकिङ प्रणालीबाट करीब ४३ अर्ब रुपैयाँ ऋण महिला उद्यमीले लिएका छन्,’ गभर्नर अधिकारीले भने, ‘यतिले मात्रै पुग्ने अवस्था छैन । महिला उद्यमीलाई सहयोग गर्न बैंक, वित्तीय संस्थाहरू नहिचकिचाउनुहोस् ।’
उक्त अवसरमा उनले अहिलेको सानो ऋणले भोलि कोही उद्यमी बन्ने भएकाले सहयोग गर्नुपर्नेमा जोड दिए । ‘यद्यपि कर्जा दिने भन्दैमा जोखिम विश्लेषण नगर्ने भन्ने हुँदैन,’ उनले भने । महिला उद्यमीका नाममा गएको ऋण पुरुषले चलाएको हुनाले सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको चर्चा पनि छ । तर, यसलाई नकारात्मक रूपमा मात्र हेर्न जरुरी नभएको अधिकारीको तर्क छ ।
‘महिलाको नाममा पुरुषले ऋण लिएर व्यवसाय, परिवार राम्रो भएको छ भने कर्जा दुरुपयोग भयो भनेर धेरै नउचालांै,’ उनले भने, ‘९५ प्रतिशत प्रत्यक्ष रूपमा महिलाले नै कर्जा लिएका छन्, त्यसैले सहुलियपूर्ण कर्जा रोक्नुपर्ने हुँदैन ।’ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले जापानी मुद्राको नोट बनाउन नेपालमा बनेको कागज प्रयोग हुने गरेका भनेर सीएनएनलगायत अन्तरराष्ट्रिय सञ्चार माध्यममा आएकोमा ध्यानाकर्षण गराउँदै त्यसमा धेरै महिलाले रोजगारी पाइरहेको बताए । यसबारे चर्चा गर्दै उनले नेपाली महिलाको आर्थिक समावेशीकरण धेरै महत्त्वपूर्ण रहेको बताए ।
संसारभर उदीयमान बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले महिलाको स्वामित्वमा रहेको व्यवसायलाई सघाउने नीति रहेको जानकारी दिएका दस्तिदारले सोही नीतिअनुसार न्यू बिजनेश एजले आयोजना गरेको महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रमलाई सहयोग गरेको बताए ।
आयोजक संस्था न्यू बिजनेश एज प्रालिका सञ्चालन तथा वित्त निर्देशक सविता सुवेदीले महिला उद्यमीलाई प्रोत्साहन गर्ने र उनीहरूको कामलाई सम्मान गर्नेतर्फ सबैले काम गर्नुपर्नेमा जोड दिइन् । उनले न्यू बिजनेश एज प्रालिको आयोजनामा हालै देशका सातै प्रदेशमा महिला उद्यमीहरूलाई वित्तीय साक्षरता तथा उद्यमशीलताका तालीम प्रदान गरिएको बताइन् । महिला उद्यमशीलता प्रवर्द्धन गर्न न्यू बिजनेश एज प्रालिले उद्यमीलाई सम्मान गर्ने कार्यक्रम सन् २०२१ देखि गर्दै आएको र आगामी वर्षहरूमा पनि यसले निरन्तरता पाउने बताइन् ।
कार्यक्रमलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आइएमई लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिङ कर्पाेरेशन, डोभ (युनिलिभर नेपाल), सिटिजन लाइफ इन्स्योरेन्स, हिमालय एयरलाइन्स, कजरिया, एनएलजी इन्स्योरेन्स कम्पनी, ओमोडा ईभी, रिलायबल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कृषि विकास बैंकको सहयोग रहेको थियो । न्यू बिजनेश एजले यो लगायत अन्य विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।
कसलाई के अवार्ड ?
१. लाइफटाइम एचिभमेन्ट अवार्ड इन वुमन इन्ट्रेप्रेन्युअरसिप
श्यामवदन श्रेष्ठ, अध्यक्ष, नेपाल नटक्राफ्ट प्रालि
२. प्रोफेशनल वुमन अफ एक्सलेन्स
रीता पोखरेल, निर्देशक, नेपाल इनड्राइभ
३. पायोनियरिङ सोसियल इन्ट्रेप्रेन्युअर
वेदिका मुरारका, सहसंस्थापक, इडुकेश
४. वुमन इन टेक
सोनिका मानन्धर, सहसंस्थापक, अलोई
५. दि बेस्ट वुमन इन्ट्रेप्रेन्युअर
मौसमी श्रेष्ठ, संस्थापक, श्री किसान इन्नोभेशन हब
६. इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर (सात प्रदेश)
कोशी : माया गुरुङ, चन्दन फाइबर उद्योग (ताप्लेजुङ)
मधेश : सुनैना ठाकुर, सुनैना आर्टस्, (धनुषा)
बागमती : सपना सापकोटा, बेलाकासा इन्टरनेशनल (काठमाडौं)
गण्डकी : गीता नाथ, कर्णाली गार्मेन्ट उद्योग (कास्की)
लुम्बिनी : गीताकुमारी कोइरी मौर्य, बाँके पोल्ट्री फर्म (बाँके)
कर्णाली : भूमिसरा टोमटा, श्रमजीवी मसला उद्योग (सुर्खेत)
सुदूरपश्चिम : सावित्री ओझा, ग्रीन माउन्टेन कृषि विकास फर्म, डँडेलधुरा