‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२४’को चौथो संस्करणमा हस्तकला उद्यमी श्यामवदन श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड इन वुमन इन्ट्रेप्रेन्युअरसिप’ बाट सम्मान गरिएको छ । न्यू बिजनेश एज प्रालिले उनलाई यो वर्ष उक्त अवार्डस्बाट सम्मान गरेको हो ।
सम्मान ग्रहण गरेपछि उनले भनिन्, ‘महिलाहरूले जसरी काम गरेका छन्, त्यो निरन्तर गर्नुपर्छ, यो महिला स्वयं, परिवार, समाज र देशकै लागि आवश्यकताको कुरा हो ।’ यस्तै उनले नेपालको हावापानीको कारणले यहाँ जताततै उद्यमशीलता विकास गर्न सक्ने वातावरण रहेको पनि बताइन् । १२५ भन्दा बढी जनजाति भएको ठाउँमा हस्तकला व्यवसाय मात्रै गर्न सके पनि लाखौं महिला उद्यमी जन्मिने र देशको समृद्धिमा योगदान पुग्ने उनको ठहर छ ।
कृषिदेखि, पुष्प र हस्तकलालगायत अन्य विधाका व्यवसायमा समेत अपार सम्भावना देख्ने उनको जीवन हस्तकला उद्यममा समर्पित छ । गर्भमै छँदा बुबा गुमाएकी उनले हस्तकलाको काम ८ वर्षको उमेरदेखि गरेकी हुन् । शुरुआती समयमा राति २ बजेदेखि हस्तकलाका काम गरेको उनी सम्झिन्छिन् ।
करीब ४० वर्षअघि हस्तकला उद्यममा प्रवेश गरेकी उनी नेपाल नटक्राफ्ट सेन्टर प्रालिका सञ्चालक हुन् । उनी व्यवसायमा लाग्न चाहनेहरूका लागि प्रेरणाकी स्रोत भएको न्यू बिजनेश एज प्रालिले बताएको छ । ‘कमै लगानी गरेर पनि व्यवसायमा स्थापित हुन सकिन्छ भन्ने उनको जीवनबाट प्रेरणा लिन सकिन्छ,’ आयोजकले भनेको छ ।