काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्षको सोही अवधिसम्म ३२ दशमलव १६ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड ५९ लाख रुपेैयाँभन्दा बढी खुद नाफा गरेकोमा यस वर्ष ४ करोड ४७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन आम्दानी ८ दशमलव ३० प्रतिशत घटेको छ । गत वर्ष ८१ करोड ९६ लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष ७५ करोड १६ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । यो वर्ष कम्पनीको खर्च घटेको छ ।
गत वर्ष ७० करोड ७७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष ६७ करोड २८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ४४ लाख रुपैयाँ कायम रहेको छ भने जगेडा कोष रकम २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी छ । दिर्घकालिन कर्जा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने ११ करोड २२ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३३० रुपैयाँ ७७ पैसा छ ।