काठमाडौं । भृकुटीमण्डपमा आयोजित २५ औं फ्लोरा एक्पोमा आइतवार (आज) फुल पारखी रमाइरहेका देखिन्थे । कोही फूल हेर्दै थिए त कोही फूलनजिकै तस्वीर खिच्दै । स्टल वरपर पनि अवलोकनकर्ताको चहलपहल देखिन्थ्यो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सञ्चालन भएको एक्स्पो आजै सम्पन्न भएको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सञ्चालन भएको उक्त प्रदर्शनीमा ६० ओटा प्रदर्शनी स्टल, ३ ओटा ल्यान्डस्केपिङ स्टल, ८ ओटा अफिसियल स्टल, १–१ ओटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र फूड स्टल राखिएका थिए ।
यही चैत १ गते शुरु भएको मेला शनिवारसम्म १७ हजारले अवलोकन गरेको र यसबाट ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान