काठमाडौँ । सांसद रञ्जुकुमारी झाले राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग गरेकी छन् । करीब ३८ वर्षअघि सप्तरीको राजविराजमा स्थापना भएको औद्योगिक क्षेत्र हालसम्म पनि सञ्चालनमा आउन नसकेको गुनासो उनले गरिन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद झाले आवश्यक साधन र स्रोतको प्रबन्ध गरेर सो औद्योगिक क्षेत्र सञ्चालन गर्न तथा आर्थिक विकासको मार्गमा स्थानीयवासीलाई केन्द्रित गर्न सरकारसँग माग गरिन् ।
सांसद अब्दुल खानले झन्डै दुई महिनादेखि विभिन्न माग राख्दै आन्दोलनरत पिछडा वर्गलाई वार्तामा बोलाई समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले चामल नभई धान आयात गर्नुपर्ने, इँटा उद्योगलाई कानूनी दायरामा ल्याउन तथा बीमाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामप्रकाश चौधरीले तराईका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरी हुँदा किसान मर्कामा परेको विषय संसदमा उठाए । सांसद रञ्जिता श्रेष्ठले कैलालीमा बस्दै आएका थारू र दलित समुदायका कतिपय परिवारसँग एक टुक्रा पनि जमिन नहुनु दुःखद भएको बताइन् । उनले ती समुदायलाई तत्काल लालपुर्जा र भूमि उपलब्ध गराउन सरकारसँग माग गरिन् ।
सांसद चित्रबहादुर केसीले बाग्लुङमा निर्माणाधीन पुष्पलाल लोकमार्गमा भइरहेको ढिलाइप्रति आपत्ति प्रकट गर्दै निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन आग्रह गरे । सांसद प्रभु साहले मेची महाकालीका जनताले हुलाकी राजमार्गमा सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद सरस्वती बजिमयले मुलुकभित्र सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार भइरहेको बेला नीतिगत अस्थिरताका कारण समस्या पैदा भएकाले तत्काल समस्या समाधान गर्न आग्रह गरिन् । उनले सो क्षेत्रमा कर छुट दिई लगानी विस्तार हुने वातावरण बनाउन माग गरिन् ।
सांसद नारायणप्रसाद आचार्यले कालीगण्डकी करिडोर, नागढुङ्गा नौबिसे सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्ग जस्ता विकास निर्माणका बारेमा संसद्मा छलफल गर्न सांसद आचार्यले माग गरे । रासस