काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले फागुन ६ गते आजदेखि खुलामुखी योजना सञ्चालनका लागि इकाई निष्कासन गरेको छ ।
क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने गरी सानिमा फ्लेक्सी फण्ड नामको योजना सञ्चालनमा आउन लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरेको हो ।
कुल इकाईमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्कासनमा आउन लागेको हो । निष्कासन गर्ने इकाईमध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये योजना व्यवस्थापक सानिमा क्यापिटललाई २० लाख कित्ता सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणमा २ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
यी इकाई खरीदका लागि आवेदन दिंदा न्यूनतम १०० कित्तादेखि अधिकतम ४० लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो इकाई छिटोमा फागुन ११ गतेसम्म निष्कासनमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि फागुन २० गतेसम्म निष्कासन अवधि लम्बिनेछ ।
योजना व्यवस्थापकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । नेपाल धितोपत्र बोर्डले क्यापिटलाई माघ २ गते यस योजना सञ्चालनका लागि इकाई निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।