काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ जेठ २६ गते सोमवार बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा दिउँसो ३ बजे आईपीओ बाँडफाँट कार्यक्रम तय गरिएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले सर्वसाधारणमा जेठ ९ गतेदेखि १३ गतेसम्म २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
२ लाख ४१ हजार ५३० जना योग्य आवेदकले १० कित्ताका दरले प्राप्त गर्ने कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा करीब ११ गुणा बढी आवेदन परेको छ । अन्तिम दिनसम्म २१ लाख ८ हजारभन्दा बढीले २ करोड ५८ लाख ९० हजारभन्दा बढी कित्ता आईपीओ खरीदका लागि आवेदन दिएका छन्।
सर्वसाधारणतर्फको शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार २०० कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशतले हुने ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको थियो ।
यस कम्पनीले इलाम जिल्लामा ७ दशमलव ६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको छ भने ५ दशमलव २ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ ।
यस योजनाको ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी कम्पनीले दिएको छ । हाल संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी ५० करोड १० लाख रुपैयाँ छ ।
सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँ कायम हुनेछ । कुल पूँजीमा संस्थापकतर्फ ५६ दशमलव ९३ प्रतिशत, आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत बाँकी सर्वसाधारणमा ३३ दशमलव शून्य ७ प्रतिशत स्वामित्व कायम हुनेछ ।
कम्पनीले आईपीओबाट संकलित पूँजी आयोजना निर्माण तथा कम्पनीले तय गरेका उद्देश्य प्राप्तिको लागि उपयोग गरिने जानकारी दिएको छ ।