काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यातायात सेवा ठप्प हुँदा राइड शेयरिङ सेवा प्रयोग गरेबापत चर्को भाडा तिर्नुपरेको यात्रुले गुनासो गरेका छन् । राइड शेयरिङ कम्पनीहरूले भने उक्त दाबीको खण्डन गरेका छन् ।
राइड शेयरिङ कम्पनी पठाओ र इनड्राइभले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफूहरूले जथाभावी भाडा बढाएको भन्ने चर्चामा सत्यता नभएको दाबी गरेका छन् । ‘हामीले भाडा बढाएका छैनौं,’ दुवै कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
अधिकांश राइडरले अफलाइन सेवा दिन चाहेको र अफलाइनमा नियमितभन्दा धेरै गुणा बढी भाडा असुलेको यात्रुको भनाइ छ ।
राइड शेयरिङ कम्पनीहरूले विज्ञप्तिमा अफलाइन राइडरबाट जोगिन यात्रुलाई सचेत गराएका थिए । ‘हामीले नियमित शुल्क मात्रै लिएका छौं, तसर्थ पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन,’ पठाओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बरु यात्रुलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न हामीले राइडरलाई कम्पनीका तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर धेरै राइड गर्न प्रोत्साहन गरिरहेका छौं ।’
त्यसैगरी इनड्राइभले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एपमा देखाइने भाडा शुरूको भए पनि अन्तिम भाडा यात्रु र चालकबीचको सहमतिमा तय हुन्छ, जसले यात्रुलाई बजेटअनुसार सेवा खोज्न र चालकलाई समय, ट्राफिक, दूरीअनुसार भाडा छनोट गर्न स्वतन्त्रता दिन्छ ।’
सार्वजनिक यातायात बन्दका कारण सास्ती खेपिरहेका यात्रुमाथि राइड शेयरिङ कम्पनीले मौका छोप्दै चर्को भाडा असुल गरेको भन्दै सामाजिक सञ्जाललगायत विभिन्न सञ्चारमाध्यममा विरोध भएको थियो । यसैबीच सोमवार दिउँसो नेपाल प्रहरीले राइड शेयरिङमा बढी भाडा लिएको पाइए कारबाही गर्ने चेतावनी दिँदै यात्रुका लागि आफैले बस सेवा शुरू गर्यो ।
बन्दका कारण यात्रुले सास्ती भोग्नुपरेपछि नेपाल प्रहरी र साझा यातायातले यात्रुलाई गन्तव्य पुर्याएर साथ दिए । साझा यातायातले दिनभर २१ ओटा बसमार्फत नियमित रूपमा यात्रुलाई सेवा दिएको हो । साझाले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायणथानको रूटमा नियमित रूपमा सेवा प्रदान गरेको हो । प्रहरीले अप्ठ्यारोमा परेका यात्रुका लागि निःशुल्क बस सेवा उपलब्ध गराएको थियो । प्रहरीले रूट नम्बर १ मा नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुल्चोक, नयाँ बानेश्वर, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथमा निःशुल्क बससेवा चलाएको थियो भने रूट नम्बर २ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, थिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, गौशाला, रत्नपार्क, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ, तीनकुने, रातोपुल रूटमा यातायात सेवा दिएको हो ।