काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को सात महीना अर्थात\ माघ मसान्तसम्ममा रू. ६२ करोड ५२ लाख व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार सञ्चालित तीन लघु जीवन बीमा कम्पनीहरूले उक्त व्यवसाय गरेका हुन् । यो व्यवसाय गत आवको यसै अवधिको तुलनामा उल्लेख्य वृद्धि हो । गत आवको माघ मसान्तसम्ममा यी तीन कम्पनीले कुल रू. ४ करोड २२ लाख बराबरको व्यवसाय गरेका थिए ।
ती कम्पनीहरूमध्ये गार्डियन माइक्रो लाइफले चालू आवको सात महीनामा रू. २४ करोड ५१ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ५ लाख २४ हजार ४१२ वटा बीमा पोलिसी विक्री गरी सो व्यवसाय गरेको हो ।
साथै क्रेष्ट माइक्रो लाइफले १ लाख ३८ हजार ७३० वटा बीमा पोलिसी विक्री गरी कुल रू. २२ करोड ८४ लाख र लिबर्टी माइक्रो लाइफले ८३ हजार ६५८ वटा बीमा पोलिसी विक्री गरी कुल रू. १५ करोड १६ लाख बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।