काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले पहिलो त्रैमाससम्म विद्युत विक्रीबाट १७ करोड १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट १५ करोड ५० लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले १ करोड ५९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।
विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानीमा पनि ७२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनी ३ करोड ४८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।
यस वर्ष कम्पनीको वित्तीय खर्च पनि कम भएको छ । गत वर्ष १२ करोड ५७ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १० कोड ८५ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने ८८ करोड ७० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ३ अर्ब ८८ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने १३ करोड रुपैयाँभन्दा बढी छ ।
सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले २०७८ जेठ १ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १ रुपैयाँ ९६ पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ३९ रुपैयाँ ९२ पैसा छ ।