काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।
उक्त अवधिको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी रू. ३ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा भने कम्पनीको खुद नोक्सानी घटेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रू. १० करोड ३३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा निर्माण गरेको २२ दशमलव २ मेगावाट क्षमताको चाकु ए जलविद्युत् आयोजनाबाट २०७८ साल जेठ १ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिसम्म कम्पनीले बढी विद्युत् विक्री गरेको छ । गत वर्ष रू. ४ करोड ३६ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ५० लाखभन्दा बढीको विद्यत् विक्री गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष वित्तीय खर्च कम भएकाले कम्पनीको खुद नोक्सानी घटेको छ । गत वर्ष रू. १२ करोड ९५ लाखभन्दा बढी रहेको वित्तीय खर्च रकम यस वर्ष रू. १२ करोड ५७ लाखभन्दा बढी मात्र रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४७ करोड ६४ लाख रहेको छ ।
कम्पनीको जगेडा कोष रकम भने रू. ५७ करोड ३० लाखभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर रू. ९ दशमलव ४४ नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६१ दशमलव १९ रहेको छ ।