काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगले कम्पनीलाई हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको आधारमा सोही बराबर हकप्रद शेयर निष्कासन गर्न चैत ८ गते स्वीकृति प्रदान गरेको हो ।
आयोगले विभिन्न ६ शर्तहरु तोक्दै कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको देखिन्छ । कम्पनीले जारी गर्ने आईपीओ जुनसुकै प्रयोजनका लागि भनि उल्लेख गरिएको भएतापनि उर्जा सँग सम्बन्धित बाहेक अन्य विषयमा खर्च गर्न नपाईने शर्त आयोगले तोकेको छ । आईपीओ निष्कासन कार्य सम्पन्न भएपछि त्यसको जानकारी १५ दिनभित्र आयोगलाई गराउन, प्रचलित कानुन बमोमि अन्य निकायबाट अनुमति लिनुपर्ने भए लिन, लाभकर लगाएत अन्य कर बुझाउन पर्ने भएमा बुझाउन र आयोगको ऐन, नियमावली, विनियमावली र निर्देशिका मापदण्ड, संहित तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन कार्यन्वयन गर्न समेत आयोगले भनेको छ ।