विराटनगर। नेपाली उद्योग परिसंघ (सीएनआई), कोशी प्रदेशले औद्योगिक विकास, कर सुधार र आर्थिक शिथिलत समाधानका लागि ३२ पृष्ठको प्रस्ताव नेपाली कांग्रेसलाई बुझाएको छ । सीएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले सोमवार काठमाडौंमा कांग्रेस उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको अन्तरक्रियामा नेपाली कांग्रेसका महासचिव गगन थापालाई सुझाव पेश गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष सारडाले देशको औद्योगिक क्षेत्र अस्तव्यस्त रहेको र तत्काल सुधारात्मक नीतिहरूको आवश्यकता रहेकोमा जोड दिए । उनले भन्सार नीतिहरूले चिनी, खाद्यान्न, कपडा जस्ता वस्तुको मूल्य अत्यधिक बढाएको उल्लेख गरे, जसको परिणामस्वरूप सीमापार बजार फस्टाउँदै गर्दा नेपाली बजार सुनसान भएको उनको भनाइ थियो ।
उच्च भन्सार दरका कारण साधारण नागरिक मात्र नभई घरेलु उद्योगले पनि संकटको सामना गरिरहेको उनले बताए । ‘हाल धेरैजसो उद्योगहरू आधा भन्दा कम क्षमतामा सञ्चालन भइरहेका छन्, जसले बेरोजगारी समस्या बढाएको छ । हामी उत्पादन गर्न सक्छौं, तर बजार छैन, बैंकको ऋण तिर्न सकिरहेका छैनौं, कच्चा पदार्थ महँगो छ,’ सारडाले भने । सिएनआई कोशी प्रदेशले खाद्य वस्तु र कच्चा पदार्थमा अग्रिम आयकर प्रणाली खारेज गर्न समेत माग गरेको छ । यसैगरी सीएनआईले अमरडुवामा लगभग ६०० बिघा जग्गामा औद्योगिक ग्रामको रूपमा विकास गर्ने, यस वर्षभित्र कोशी प्रदेशमा प्रदर्शनी केन्द्र पूरा गर्ने, विराटनगरमा चक्रपथ वा बाइपास सडक निर्माणका साथै रानी–किमाथांका सडक र हुलाकी मार्ग स्तरोन्नति गर्नुपर्ने सुझाव दिएको छ ।