काठमाडौँ । केही दिनअघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सार्वजनिक रूपमै चर्काचर्की गरेर तनावमा परेका अमेरिकी खर्बपति व्यवसायी इलन मस्कले सुखद समाचार पाएका छन् । भारतको दूरसञ्चार विभागले मस्कको स्याटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकलाई भारतमा इन्टरनेट सेवा सञ्चालन गर्ने अनुमति दिएपछि उनले राहतको सास फेरेका छन् । विश्वको सर्वाधिक जनसंख्या भएको भारतमा उनको कम्पनी स्टारलिंक इन्टरनेट सेवा सञ्चालन गर्ने अनुमति पाउन निकै समयदेखि प्रतीक्षारत थियो ।
केही दिनअघि राष्ट्रपति ट्रम्पसँग चर्काचर्की परेपछि राष्ट्रपति ट्रम्पले मस्कलाई अमेरिकी सरकारसँग स्पेसएक्स कम्पनीले गरेको २२ अर्ब अमेरिकी डलरबराबरको सम्झौता र अन्तरीक्ष कार्यक्रम सबै खारेज गरिदिने भनी दिएको धम्कीले मस्क तनावमा थिए ।
यसै वर्ष फेब्रुअरीमा मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा गएका वेला मोदीसँग भेट गरी स्टारलिंकले भारतमा सञ्चालन गर्न खोजेका कामबारे छलफल गरेका थिए ।
भारतीय दूरसञ्चार विभागबाट अनुमति पाए पनि स्टारलिंकले भारतीय राष्ट्रिय अन्तरिक्ष संवर्द्धन एवं प्राधिकरण केन्द्र (इन्डियन नेशनल स्पेस प्रमोशन एण्ड अथोराइजेशन सेन्टर- आईएन-एसपीएसीई) बाट अनुमति पाउन बाँकी छ । त्यस निकायबाट अनुमति लिन स्टारलिंकले आवश्यक सबै कागजात बुझाइसकेको छ ।
भारतमा भन्दा पहिले नेपालको इन्टरनेट बजारमा पनि स्टारलिंक प्रवेश गर्ने चर्चा चलेको भए पनि नेपाली दूरसञ्चार क्षेत्रमा शतप्रतिशत विदेशी लगानीका कम्पनी आउन नपाउने प्रावधान भएकाले नेपाल प्रवेश गर्ने चर्चा अहिलेसम्म अघि बढेको छैन ।
भारतीय दूरसञ्चार विभागले यूटेलस्याट वनवेब र जिओ स्याटलाइट कम्युनिकेशन्सलाई स्याटलाइट इन्टरनेट सेवा दिन अनुमति दिएको थियो । स्टारलिंक भारतमा यी दुई कम्पनीपछि स्याटलाइट इन्टरनेट सेवा दिन अनुमति पाउने तेस्रो कम्पनी हो ।
स्याटलाइट इन्टरनेट सेवा प्रदायक अर्को कम्पनी अमेजनको कुइपर पनि भारतमा स्याटलाइट इन्टरनेट उपलब्ध गराउन दूरसञ्चार विभागबाट अनुमति पाउने प्रतीक्षामा छ ।
दक्षिण एशियामा स्टारलिंकले स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउने भारत तेस्रो देश हो । स्टारलिंकले भारतमा भन्दा पहिले भुटान र बंगलादेशमा स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।
भू-उपग्रहबाट सोझै उपभोक्तालाई इन्टरनेट उपलब्ध गराउने मस्कको स्टारलिंकले अनुमति पाएको १२ महीनाभित्र इन्टरनेट सेवा दिन थाल्नुपर्ने भारतीय दूरसञ्चार विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्टारलिंकले प्रतिसेकेन्ड ६ सयदेखि ७ सय गिगाबाइट्स (जीबीपीएस) ब्यान्डविथ उपलब्ध गराउनुपर्ने पनि जनाइएको छ । मस्कको स्टारलिंकले अहिले विश्वका सयभन्दा बढी देशमा आवासीय र रोमिङ इन्टरनेट सेवा उपलब्ध गराईरहेको छ ।
स्टारलिंकले एशियाली देशहरू मंगोलिया‚ जापान‚ फिलिपिन्स‚ मलेशिया‚ इन्डोनेशिया‚ जोर्डन‚ यमन र अजरबैजानमा इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।
स्टारलिंकले यूरोपमा बोस्निया‚ यूक्रेन र हर्जगोविनाबाहेक इटली‚ फ्रान्स र संयुक्त अधिराज्यसहित अधिकांश देशमा इन्टरनेट सेवा उपलब्ध गराएको छ। यसैगरी‚ अफ्रिकी देशहरू नाइजर‚ सिएरा लिओन‚ लाइबेरिया‚ जिम्बावे र मोजाम्बिकलगायत कतिपय देशमा इन्टरनेट उपलब्ध गराईरहेको छ भने अष्ट्रेलिया र न्यूजिल्याण्डमा पनि इन्टरनेट उपलब्ध गराईरहेको छ ।
आर्थिक समाचार वेबसाइट टेकसेन्ट्रलका अनुसार स्टारलिंकले इन्टरनेट उपलब्ध गराइरहेका देशहरूमध्ये अफ्रिकी देश जाम्बियामा इन्टरनेट सबैभन्दा सस्तोमा उपलब्ध गराइरहेको छ भने अमेरिकामा सबैभन्दा महँगो रहेको छ ।