काठमाडौं । पछिल्ला तीन कारोबार दिन निरन्तर बढेको बजार मंगलवार भने घटेको छ । यो दिन सोमवारको तुलनामा १ दशमलव ३२ प्रतिशत अर्थात् ३५ दशमलव ७३ अंकले बजार घटेको हो ।
२ हजार ६९४ विन्दुदेखि खुलेको बजार मंगलवार २ हजार ६९९ दशमलव २८ विन्दुसम्म पुगेको थियो । न्यूनतम विन्दु २ हजार ६५६ दशमलव ३४ रहेको छ । अन्तिममा बजार २ हजार ६५८ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।
यो दिनको कारोबारमा छोटो पुच्छर र छोटो टुप्पी भएको मैनबत्ती बनेको छ । यसले भोलिको बजार सकारात्मक नबन्ने संकेत गर्दछ ।
मंगलवार ३४ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने २१४ कम्पनीको धितोपत्र मूल्य घटेको छ । पियोर इनर्जीको शेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ३८ रुपैयाँ ५० पैसाले बढेर अन्तिम मूल्य ४२३ रुपैयाँ ५० पैसा कायम भएको छ भने ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशत अर्थात् प्रतिकित्ता १६४ रुपैयाँ ३ पैसाले बढेर अन्तिम मूल्य प्रतिकित्ता १ हजार ८१३ रुपैयाँ ४३ पैसा कायम भएको हो ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य भने सबैभन्दा बढी ४ दशमलव ३८ प्रतिशत घटेको छ । प्रतिकित्ता ४४ रुपैयाँ ७१ पैसाले घटेर सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ९७५ रुपैयाँ १५ पैसा कायम भएको हो ।
सोमवार ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको २ करोड २० लाख ३१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको १ करोड ५५ लाख ३८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कारोबार रकम घटेको देख्दा लगानीकर्ता अझै बजारप्रति विश्वस्त हुन नसकेको अनुमान ब्रोकरहरूले गरेका छन् । 'पर्ख र हेर'को अवस्थामा रहेका लगानीकर्ता उत्साहित हुने खालका गतिविधि भएमा बजारले सकारात्मक लय समात्ने अनुमान ब्रोकरहरूले गरेका छन् ।
मंगलवार कुल कारोबारमा राधी विद्युत कम्पनीको सर्वाधिक हिस्सा छ । राधी विद्युतको ६० करोड १५ लाख रुपैयाँभन्दा बढीको ७ लाख ६५ हजार ९१९ कित्ता शेयर कारोबार भएको हो ।
यस दिन सबै समूहगत परिसूचकहरू घटेका छन् । सबैभन्दा बढी बैंकिङ समूहको परिसूचक घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्डको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।
मंगलवार बजार घटेसँगै लगानीकर्ताले ५९ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । अघिल्लो कारोबार दिन ४४ खर्ब ८७ अर्ब ८९ करोड ९० लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण ४४ खर्ब २८ अर्ब ४० करोड रुपैयाँ कायम भएको हो ।