काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले ‘टेक एण्ड पे’ नीति लागू गरिए कुनै पनि आयोजनाको विद्युत खरीद सम्झौता (पीपीए) हुन नसक्ने बताएका छन् ।
न्यू बिजनेश एजसँगको अन्तवार्तामा उनले उक्त कुरा बताएका हुन् । ‘टेक एण्ड पे’ (आवश्यकता अनुसार बिजुली किन्ने) नीतिले अब हामीलाई बिजुली चाहिँदैन भन्ने सन्देश दिएको उनको भनाइ छ ।
‘...म किन्दिनँ, चाहेको बेला मात्रै बिजुली किन्छु भन्नु भनेको अब नगर, तिमीहरू जहाँ छ त्यही डुब भनेको हो,’ उनले भने । ‘तर, सरकारले यसलाई सकारात्मक रूपमा सुन्छ भन्ने लाग्छ ।’
उनले नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्शलगायत संस्थाले टेक एण्ड पे संशोधन गर्नुपर्ने धारणा राखेको पनि बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत रन अफ रिभरका आयोजनाबाट ‘टेक एण्ड पे’ मोडलमा विद्युत खरीद सम्झौता (पीपीए) गर्ने घोषणा गरेको छ ।
उक्त घोषणाको ऊर्जा उत्पादकहरूले विरोध गर्दै आइरहेका छन् । अहिले सरकारले ‘टेक अर पे’ मोडलमा पीपीए गर्दै आइरहेको छ ।
ऊर्जा क्षेत्रमा ६६ खर्बको लगानी भइसकेको उल्लेख गर्दै उनले ‘टेक एण्ड पे’ नीति पुनरावलोकन नगरिए भयावह स्थिति आउन सक्ने बताए ।