logo
विन नेपाल लघुवित्तको एफपीओ निष्कासनमा, न्यूनतम १० कित्ता आवेदन दिन पाउने
विन नेपाल लघुवित्तको एफपीओ निष्कासनमा, न्यूनतम १० कित्ता आवेदन दिन पाउने
२१ चैत्र २०८१

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको एफपीओ निष्कासन भएको छ । कम्पनीले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपियाँबराबरको ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ निष्कासन गरेको हो । 

यो एफपीओे निष्कासन मिति छिटोमा चैत २६ गतेसम्मका लागि तय गरिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि २०८२ साल वैशाख ४ गतेसम्म निष्कासन लम्बिनेछ । तर पछिल्लो समय आईपीओ तथा एफपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको तथ्याङ्क छ । 

यसलाई आधार मान्दा कम्पनीको एफपीओ पनि छिटो अवधि चैत २६ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि  अधिकतम १ हजार कित्तासम्मका माग गर्न सकिनेछ । 

यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन पाइनेछ ।  साथै मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । 
 

एफपीओ निष्कासन प्रयोजनका लागि गराइएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

हाल कम्पनीकोे चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ । एफपीओ निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ कायम हुनेछ । यो कम्पनी धितोपत्र दोस्रो बजारमा २०७५ साल जेठ १७ गते सूचीकृत भएको थियो । 

गत आर्थिक वर्ष ०८०÷८१ सम्म कम्पनी १ करोड ६१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०७ रुपैयाँ र प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी २ करोड ८६ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २३ पैसा छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.