वीरगञ्ज । सर्वोच्च अदालतले आहारपूरक खाद्य पदार्थलाई औषधि पसलबाट बेच्न नदिने औषधि व्यवस्था विभागको निर्णय खारेज गरेपछि बाराको लिपनीमालमा जयश्री हेल्थ केयर उद्योग सञ्चालनमा ल्याएका साकेत क्यालले राहत महसूस गरेका छन् ।
उक्त उद्योगमा ५० करोड रुपैयाँ लगानी गरेका क्याल औषधि व्यवस्था विभागको आहारपूरक खाद्यवस्तु आयात तथा विक्रीवितरण गर्न रोक लगाउने र जफत तथा नष्ट गर्ने निर्णयका कारण केही महीनादेखि तनावमा थिए ।
गत माघ ३ गते औषधि व्यवस्था विभाग र खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका पदाधिकारीहरूबीच समन्वय गरी खाद्यपूरक वा औषधीय वस्तु के हो भनी निष्कर्ष निकाल्नुपर्नेमा त्यसो नगरी कानूनबमोजिम आयात र विक्री वितरण गरिरहेका वस्तुलाई औषधीय भएको भनी रोकावटका काम गर्नु त्रुटिपूर्ण रहेको भनी सर्वोच्चले यसअघि उच्च अदालत पाटनबाट २०७६ माघ २९ गते भएको फैसला बदर गरेको थियो ।
वीरगञ्जको सुरभी इन्टरनेशनलले हालेको मुद्दामा गत माघ ३ गते यस्तो आदेश आएको थियो ।
यसअघि, औषधि व्यवस्था विभागले फार्मेसीहरूमा औषधि व्यवस्था विभागमा सूचीकृत औषधिमात्र बेच्न पाइने सूचना निकालेको थियो । सूचीकरण नभएका आहारपूरक भेटिएमा कारबाही गर्दै आएको छ । ‘विभागले कारबाही गर्न थालेपछि व्यवसायीले औषधि पसलमा आहारपूरक खाद्य पदार्थ राख्न मानेका छैनन् । यसले बजारीकरणमा समस्या सृजना भएको छ,’ उद्यमी क्यालले गुनासो गरे ।
दुई वर्षअघि मात्र उद्योग स्थापना गरेका उनी औषधि व्यवस्था विभागको कदमका कारण चिन्तामा थिए । अधिकांश आहारपूरकहरू आयात भइरहँदा देशभित्रै यस्तो खाद्य पदार्थ उत्पादन गर्न कस्सिएका क्यालले २ वर्षअघि जयश्री हेल्थ केयर उद्योग स्थापना गरेका थिए ।
यसअघि उनले पारिवारले सञ्चालन गरेको औषधि विक्रीवितरण व्यवसायमा १०–१२ वर्ष बिताएका थिए । वीरगञ्जका ४० वर्षे क्याल बेलायतबाट फार्मेसीमा स्नातकोत्तर गरेर २०६८ सालमा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि क्यालले शुरूमा सरकारी जागीर खाने सोच बनाए । तर, व्यापारिक परिवारिक पृष्ठभूमिका कारण आफूलाई जागीरमा सीमित राख्न चाहेनन् ।
उनका पिता ज्योतिकुमार क्यालले २०४७ मा शुरू गरेको औषधिको कारोबारमा उनी सक्रिय भए । पिता ज्योतिकुमार अहिले पनि औषधिको व्यापारमै सक्रिय छन् ।
‘शुरूमा १०/१२ वर्षजति औषधिको व्यापार गरेपछि त्यही अनुभवलाई उद्यममा लगाएको छु,’ उनले भने । औषधि विक्रीवितरण क्रममा देशभित्र उपभोग हुने अधिकांश आहारपूरक
खाद्य पदार्थ आयात भइरहेको पाएपछि उनले यस्तो पदार्थ उत्पादन गर्ने उद्योगमा सम्भावना देखेका हुन् ।
भन्सार विभागका अनुसार नेपालमा वर्षेनि करीब डेढ अर्ब रुपैयाँ बराबरको आहारपूरक खाद्य पदार्थ आयात हुन्छ । यो वैध तरीकाले भित्रिएको परिमाणमात्र हो । यस्ता उत्पादनको औपचारिकभन्दा अनौपचारिक आयात बढी भइरहेको क्यालको दाबी छ । औपचारिक र अनौपचारिक दुवै किसिमबाट हुने आयात जोड्दा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको आहारपूरक आयात हुने अनुमान उनको छ ।
अहिले आहारपूरक खाद्यको अधिकांश बजार आयातको भरमा चलेकाले स्वदेशमा बजार विस्तारको प्रबल सम्भावना रहेको उनले औंल्याए । ‘यहाँको उत्पादनले त कुल खपतको १ प्रतिशत पनि पूरा गरेको छैन । त्यसैले उत्पादन विस्तारको बलियो सम्भावना छ,’ ३० ओटा उत्पादन दर्ता गराएका उद्यमी क्यालले १०० प्रकारका आहारपूरक खाद्य पदार्थ बनाउने योजना सुनाए । यो कम्पनीले ‘थ्यांक्स’ ब्रान्डमा उत्पादन गरिरहेको छ ।
यो उद्योगले दैनिक १६ लाख क्याप्सुल र दुई टन पाउडरमा आहारपूरक बनाउन सक्ने उद्योग व्यवस्थापनले बताएको छ । उद्योगले यस्तो उत्पादन निकासीको लक्ष्य पनि राखेको छ । ‘श्रीलंका, केन्या, भियतनाम, कम्बोडियालगायत देशमा आहारपूरक खाद्य पदार्थको माग रहेकोले निकासीको सम्भावना छ । तर, यसमा सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्छ,’ उनले भने ।
- वार्षिक ६ अर्ब रुपैयाँ बराबरको आयात भइरहेको अनुमान
- आयातको भरमा चलेकाले स्वदेशमा बजार विस्तारको प्रबल सम्भावना
- प्याकेजिङ सामग्रीेमा १ प्रतिशतमात्र भन्सार लगाउन उद्यमीको माग
सरकारले कच्चा पदार्थको आयातदेखि उत्पादनको बजारीकरणसम्म झमेला सृजना गरेको गुनासो उनको छ । कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको आयातमा औषधि उद्योगसरह सहुलियत पाउनुपर्ने माग छ ।
सरकारले औषधि उद्योगलाई १ प्रतिशत भन्सार महशुलमा कच्चा पदार्थ र प्याकेजिङका सामग्री ल्याउन दिएकोमा आहारपूरकलाई २० देखि ४० प्रतिशतसम्म भन्सार महशुल, मूल्य अभिवृद्धिकर र कतिपयमा अन्त:शुल्कसमेत लिएको क्यालले बताए । ‘यो नीतिले आयातित आहारपूरक खाद्य पदार्थसँग प्रतिस्पर्धा चुनौतीपूर्ण भइरहेको छ । यस्तोमा लागत बढी हुँदा निकासी गर्न पनि सकिन्न,’ उनले भने ।