काठमाडौं । विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि उद्योगले विदेशमा लगानी गर्न अधिकतम १० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा बाहिर लैजान सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैकले बुधवार नेपाल राष्ट्र बैक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ मा चौथो संसोधन गर्दै आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्ने सीमा तोकेको हो ।
‘विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्लो तीन आर्थिक वर्षहरूमा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ,’ संसोधित विनियमावलीमा भनिएको छ ।
औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र/उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने गरी विनियावली संसोधन भएको हो ।
यसअघि सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नेपालीलाई विदेशमा लगानी गर्न बाटो खोलेको थियो । नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा विक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने बजेटमा उल्लेख छ ।
यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरिनेछ र यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।