काठमाडौं । आइतवार लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो दिन समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ५७ अंक घट्दा लघुवित्त समूहको परिसूचक भने २ दशमलव ३२ प्रतिशत बढेको छ ।
यो दिन लघुवित्तसँगै व्यापारिक समूहको परिसूचक बढेको छ । उक्त समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशत बढेको छ । घटेको बजारमा लघुवित्ततर्फका ५० कम्पनीमध्ये विन नेपाल लघुवित्त, सपोर्ट लघुवित्त, समाज लघुवित्त र आत्मनिर्भर लघुवित्तको मात्र शेयर मूल्य घटेको छ भने बाँकी सबै कम्पनीको बढेको छ । व्यापारिक समूह तर्फका कारोबारमा आएका दुई कम्पनीकै शेयर मूल्य यो दिन बढेको छ ।
अघिल्लो कारोबार दिन बिहीवार १९ अंकले बढेको बजार आइतवार भने घटेको हो । यो दिन २ हजार ७०३ दशमलव ७८ विन्दुसम्म पुगेको बजार २ हजार ६६५ दशमलव ७८ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार २ हजार ६७९ दशमलव ९८ विन्दुमा बन्द भएको छ ।
घटेको बजारमा ९९ कम्पनीको धितोपत्र मूल्य भने बढेको छ भने १४८ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ । यो दिन नेपाल ल्यूब आयलको शेयर मूल्य भने स्थिर रहेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य यस दिन १० प्रतिशत अर्थात् प्रतिकित्ता १०२ रुपैयाँ ४० पैसाले बढेर १ हजार १२६ रुपैयाँ ७० पैसा कायम भएको छ । सिन्धु विकास बैंकको शेयर मूल्य भने यो दिन ८ दशमलव २८ प्रतिशत घटेर प्रतिकित्ता ८४३ रुपैयाँ ९० पैसा कायम भएको छ ।
यो दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको २ करोड २३ लाख ९६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आइतवार ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको १ करोड ८५ लाख ५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
राधी विद्युतले यो दिन कुल कारोबार रकममा सर्वाधिक हिस्सा कायम गरेको छ । राधी विद्युतको ७१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यो दिन राधी विद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँ ५५ पैसाले बढेर अन्तिम मूल्य ७९० रुपैयाँ २० पैसा कायम भएको छ ।
यो दिन कुल बजार पूँजीकरण ४४ खर्ब ५९ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४४ खर्ब ७३ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ कायम थियो । आइतवार कुल बजार पूँजीकरण १४ अर्ब २६ करोड रुपैयाँभन्दा बढीले घटेको हो ।