काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पछिल्लो समय दुई बैंकलाई ऋणपत्र निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।
नेपाल एसबिआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डको अनुमति पाएको हो । दुवै बैंकले एकै दिन (जेठ ७ गते) बोर्डबाट अनुमति पाएको हो ।
नेपाल एसबिआई बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्कासन गर्न लागेको छ ।
बैंकले निष्कासन गर्न लागेको ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र १ अर्ब ८० हजार रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने जानकारी दिएको छ ।
यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० वर्षे अवधिको ८ प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने ऋणपत्रमध्ये ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।