चितवन । जिल्लाको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव)का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७औं नगरसभामा आज बजेट प्रस्तुत गरेका हुन् । महानगरले सार्वजनिक गरेको बजेट पछिल्ला दुई आवभन्दा कम हो ।
महानगरपालिकाले आव २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँ र आव २०८०/८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेश गरेको थियो ।
आगामी आवका लागि प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड, (घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागिता तथा श्रमदानबाट ५ करोड, बैंक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । महानगरले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रुपैयाँ रहने प्रक्षेपण गरेको छ ।
महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष २०८१/०८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसैगरी २९ वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७०७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४९२ रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ ।
वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरिएको बताइएको छ ।