काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कुल गार्हस्थ्य उत्पादनमा करीब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकासबिना राष्ट्रिय समृद्धि सम्भव नभएको बताएका छन् ।
उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालालाई आज सम्बोधन गर्दै मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको सिर्जना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरूदेखि नै महत्त्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० ओटा पालिकाहरूमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवर्द्धन गरिने बताए ।
साथै यस कार्यक्रममार्फत उच्च मूल्य कृषि वस्तुहरूको प्रवर्द्धन गरी बजारीकरणमार्फत साना कृषकहरूको आयआर्जन र गरिबी निवारणमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।
मन्त्री अधिकारीले विगतदेखि नै परम्परागत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीहरूको व्यावसायीकरण गरी मूल्य श्रृंखलाको विकासमार्फत निर्यात प्रवर्द्धन गर्न सके कृषकहरूको जीवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने पनि बताए ।
नेपाल सरकार र इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्टबीच सम्झौता भई ८ वर्ष अवधिका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० पालिकामा यो कार्यक्रम लागू भएको छ ।
यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बनमार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तीकरण गर्दै गरिबी निवारण र साना कृषकहरूको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकामा अन्तरराष्ट्रिय स्तरको कृषि बजार निर्माण गरि सञ्चालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले जानकारी दिए ।
सचिव शर्माले यसमार्फत देशका अन्य क्षेत्रहरूमा स्थापना भएका स–साना कृषि बजारहरूको आवद्धता गरी उच्च मूल्य कृषिवस्तुहरूको क्षेत्रीय र अन्तरराष्ट्रिय बजारमा निर्यात प्रवर्द्धन गर्न सक्ने सम्भावनासमेत रहेको बताए ।