जनकपुरधाम । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालू आर्थिक वर्ष २०८१/८२ को जेठ १८ गतेसम्ममा रू. २ अर्ब ५१ करोड २२ लाख ५३ हजार राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ५५ दशमलव ३८ प्रतिशत हो ।
चालू आर्थिक वर्षमा कार्यालयले रू. ४ अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व असुलीको लक्ष्य पाएको सूचना अधिकारी सन्तोष ज्ञवालीले बताए ।
मासिक राजस्व लक्ष्य र प्रगति हेर्दा कार्यालयले साउनमा लक्ष्यको ९२ दशमलव २२ प्रतिशत, भदौमा ८३ दशमलव ९० प्रतिशत, असोजमा ८७ दशमलव ५६ प्रतिशत, कात्तिकमा ७४ दशमलव शून्य २ प्रतिशत राजस्व असुली गरेको छ ।
यसैगरी मंसिरमा ८३ दशमलव ३६ प्रतिशत, पुसमा ७५ दशमलव १५ प्रतिशत, माघमा ७४ दशमलव ७६ प्रतिशत, फागुनमा ३५ दशमलव शून्य २ प्रतिशत चैतमा २७ दशमलव ४८ प्रतिशत, वैशाखमा ३४ दशमलव ९८ प्रतिशत र जेठ १८ गतेसम्ममा १६ दशमलव ८५ प्रतिशत राजस्व संकलन गरेको छ ।
सूचना अधिकारी ज्ञवालीका अनुसार कार्यालयबाट आयात सामग्रीमा पेट्रोलियम पदार्थको योगदान ४९ दशमलव १४ प्रतिशत रहेको छ ।