काठमाडौं । जगदुल्ला हाइड्रोपावर परियोजनाको सिभिल र हाइड्रो मेकानिकल कामको लागि आह्वान गरिएको बोलपत्रमा नक्कली कागजात पेश गरेको आरोप लागेको कम्पनीलाई ठेक्का दिइएको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनीले मंगलवार जारी गरेको सूचनाअनुसार उक्त कामका लागि चिनियाँ कम्पनी जियाङ्सी कन्सट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेड र उसको ज्वाइन्ट भेन्चर नेपालको एएनके कन्सट्रक्शन कम्पनी प्रालिलाई ठेक्का दिइएको छ ।
ठेक्का पाउने चिनियाँ कम्पनी जियाङ्सी कन्सट्रक्शनमाथि जगदुल्ला हाइड्रोपावरको बोलपत्र पेश गर्दा नक्कली कागजात पेश गरेको आरोप छ । यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ ।
गत अप्रिल २२ मा जगदुल्ला हाइड्रोपावर कम्पनीले परियोजनाको सिभिल र हाइड्रो मेकानिकल कामको लागि चिनियाँ कम्पनी जियाङ्सी कन्सट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन (जेसीई) र सिनो हाइड्रो कर्पोरेशन लिमिटेड प्राविधिक प्रस्तावको मूल्यांकनमा उत्तीर्ण भएको भन्दै सूचना निकालेको थियो ।
तर, सिनो हाइड्रोले अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनीले नक्कली कागजात पेश गरी जलविद्युत् परियोजनाको ठेक्का हात पार्न लागेको भनी निवेदन दर्ता गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले चिनियाँ कम्पनी सिनो हाइड्रोले सीआईबीको कार्यालयमा अनुसन्धान गर्न निवेदन दर्ता गरेको र त्यसबारेमा अनुसन्धान भइरहेको बताए ।
‘जेसीईले जगदुल्ला हाइड्रोपावरको ठेक्का पाउन फर्जी कागजात पेश गरेकोले अनुसन्धान गरीपाउँ भनी निवेदन दर्ता गराएको छ, त्यसमा अनुसन्धान भइरहेको छ,’ खड्काले भने ।
जगदुल्लाले इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा १०६ मेगावाटको यो परियोजना निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।
डोल्पा जिल्लाको जगदुल्ला नदीमा बन्ने उक्त आयोजनाको ठेक्का हात पार्ने उद्देश्यले जेसीईरएएनके कन्सट्रक्शनले यसअघि पनि जलविद्युत् आयोजना निर्माण गरिसकेको अनुभवको योग्यता पुर्याउन नक्कली कागजात पेश गरेको आरोप छ । जेसीईले हेचाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनीको लागि चीनमा ९० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको कागजात पेश गरेको थियो ।
तर, गत बिहीवार आफूलाई हेचाउ कम्पनी दाबी गर्दै जगदुल्ला हाइड्रोपावर कम्पनीलाई लेखिएको एक पत्रमा जेसीईले पेश गरेको कागजात नक्कली रहेको दाबी गरेको छ ।
आर्थिक अभियानलाई प्राप्त उक्त पत्रअनुसार जेसीईले आफ्नो कम्पनीको कुनै विद्युत् परियोजना नबनाएको र निर्माण गरेको दाबी गरिएको ९० मेगावाटको साङचेङ हाइड्रोपावर प्रोजेक्ट धेरै अघि नै आर्थिक कारणले रद्द गरिएको जनाइएको छ ।
हेचाउ शाङचेङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेडको साखलाई उपयोग गर्दै ‘शाङचेङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेड’ र ‘शाङचेङ जलविद्युत् स्टेशन’को नाम दुरुपयोग गरी जालसाजीपूर्ण काम गरेको पत्रमा उल्लेख गरिएको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हेचाउको लेटरहेड सहितको डिजिटल पत्र कुनै अज्ञात इमेलमार्फत प्राप्त भएको आर्थिक अभियानलाई बताए ।
उनका अनुसार उक्त पत्रमा जेसीईले पेश गरेको कागजात नक्कली भएको दाबी गरिएको छ । यद्यपि जगदुल्लालाई पत्र पठाइएको इमेल हेचाउकै आधिकारिक हो/होइन भन्ने अझै पुष्टि भइनसकेको उनले बताए ।
‘जेसीईले ठेक्का प्रक्रियामा सहभागी हुँदा खेरी हेचाउ साङचेङ कम्पनीसँग मिलेर चीनमा जलविद्युत् आयोजना बनाएको कागजात पेश गरेको छ । सो कागजात पेश गर्ने क्रममा जेसीईले हेचाउ कम्पनीको इमेल ठेगाना र फोन नम्बरसमेत उल्लेख गरेको थियो,’ उनले भने‚ ‘तर, अहिले जेसीईले पेश गरेको कागजात नक्कली हो भनेर दाबीसहित हामीलाई प्राप्त भएको इमेल ठेगाना र जेसीईले आवेदन दिँदा पेश गरेको ठेगाना र फोन नम्बर मिलेको छैन ।’
उनका अनुसार यस विषयमा सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन् । ‘अनुसन्धानबाट गलत कागजात पेश भएको पुष्टि भएमा जेसीई र एएनके दुवै कम्पनीलाई कानूनअनुसार कालोसूचीमा राख्नेलगायत कारबाही हुनेछ,’ सापकोटाले भने ।