वीरगञ्ज । चाचान ग्रूपका अध्यक्ष बाबुलाल चाचान न्यू बिजनेश एज लिमिटेडले आयोजना गरेको एक कार्यक्रममा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । बिहीवार सम्पन्न नवौं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’मा चाचानलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
करीब सवा सय वर्षअघि वीरगञ्ज र आसपासका क्षेत्रमा कपडाको घुमन्ते व्यापारबाट शुरू भएको चाचान समूहको व्यावसायिक यात्रा अहिले वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा पुगेको छ । चाचान समूह देशका प्रतिष्ठितमध्येको एक औद्योगिक तथा व्यापारिक समूहको रूपमा स्थापित भएको छ । यसमा अध्यक्ष चाचानको प्रमुख भूमिका छ ।
को हुन् बाबुलाल चाचान ?
१९९३ सालमा वीरगञ्जमा जन्मिएका बाबुलाल चाचान २००९ सालमा वीरगञ्जको त्रि–जुद्ध माविबाट एसएलसी दिएर बोर्ड फस्ट भएका थिए । त्यतिबेला वीरगञ्जको त्रि–जुद्ध र काठमाडौंको दरबार हाईस्कूलबाट मात्रै एसएलसी दिन सकिन्थ्यो । एसएलसीपछि इन्जिनीयर बन्ने सपना बोकेर भारतको पटना गएका बाबुलालका बुबा महावीरप्रसाद भने छोरो व्यापारमै लागोस् भन्ने चाहन्थे । ‘पटनामा इन्जिनीयरिङको फर्म भरेर वीरगञ्ज फर्किएपछि कलेजले भर्नाका लागि बोलाएको पत्र बुबाको हातमा परेछ । उहाँले पत्र नै गायब पारिदिनुभयो, भर्ना छुट्यो । अब वीरगञ्जमै पढ्नुको विकल्प थिएन ।
‘वीरगञ्जबाटै बीए पास गरेँ,’ बाबुलालले सुनाए । इन्जिनीयर बन्ने चाहना पूरा नभए पनि चाचान समूहलाई यो स्थानमा ल्याइपुर्याउँदा बाबुलाल सन्तुष्ट छन् । अहिले बाबुलालदेखि उनका नाति पुस्ता चाचान समूहका करीब एक दर्जन उद्यम उपक्रममा सक्रिय छन् । २०१४/१५ सालतिर बाबुलाल व्यापारमा सक्रिय भइसकेका थिए । त्यति बेलासम्मको कारोबार कपडामा सीमित थियो । अब व्यापारको जिम्मेवारी बाबुलालको काँधमा आइसकेको थियो । ठूला भइरहेका भाइहरूलाई काम दिनु थियो । नौ ओटी बहिनीको विवाहको जिम्मेवारी पनि उनकै थियो । उनी व्यापार विस्तारको खोजीमा थिएँ । त्यसबेला नेशनल ट्रेडिङले रूसबाट ल्याएको कपडा र निर्माण सामग्रीलगायतको व्यापार गर्थ्यो । उनी नेशनल ट्रेडिङबाट कपडा लिएर बेच्न थाले ।
त्यसको २/३ वर्षपछि भारतीय सिमेन्टको कारोबारमा हात हालेको बाबुलाल नेतृत्वको समूहले अहिले वीरगञ्ज र नेपालगञ्जबाट त्रिशक्ति र बज्रशक्ति ब्रान्डमा सिमेन्ट उत्पादन गरिरहेको छ । सिमेन्ट उद्योगको जिम्मेवारी बाबुलालका भतिजा सतीशले सम्हालेका छन् ।
लामो समयसम्म थान कपडाको कारोबारमा पाएको अनुभवलाई श्री स्टोरमार्फत फेन्सी कपडाको व्यापारमा लगाए । राजा महेन्द्र सवारी हुँदा रानी रत्नले यो पसलबाट साडी किनेर देवघाटमा लगेर बाँडेको बाबुलालको स्मरणमा अझै ताजै छ ।
सन् १९७२ मा किराना सामानको काममा हात हाले पनि त्यो धेरै दिन चलेन । सन् १९७३ मा वीरगञ्जमा आदर्श तेल मिल स्थापना भयो । सन् १९७४ मा दाल उद्योग खोले । बाबुलालले उद्योगहरूलाई भाइहरूको जिम्मा लगाउँदै, नयाँ उद्योग खोल्दै जाने योजना बनाए ।
सन् १९७५ मा चामल उद्योग चलाएको यो समूहले सन् १९७६ मा छाला उद्योग स्थापना गरेको थियो । बोरा उद्योग पनि सञ्चालनमा ल्याए । भाइछोराहरू काममा आउन थालेपछि नयाँ उद्योग थप्ने क्रम अझ बढ्यो । तेल र दालका आधुनिक उद्योग सञ्चालनमा छन् । अहिले बैंक तथा बीमा कम्पनी, कृषि उपकरण, खाद्यान्न, चिनी, कोइला, मलखाद र मसलालगायतको कारोबारमा पनि यो समूह सक्रिय छ ।
निकासी व्यापार र सुक्खा बन्दरगाहको सूत्राधार
बाबुलाल २०२४/२५ सालतिरै निर्यात व्यापारको योजनामा थिए । त्यस बेला विराटनगरबाट जुट निकासी हुन्थ्यो । तर, वीरगञ्ज क्षेत्रबाट केही पनि निकासी हुन सकेको थिएन । उनी वीरगञ्जबाट छाला निकासीको योजना लिएर वाणिज्य मन्त्रालयमा पुगे । त्यस बेला व्यापारमा लाइसेन्स चाहिन्थ्यो । निकासीको योजना सुन्नेबित्तिकै त्यहाँका अधिकारीले उत्साहित हुँदै तुरुन्तै लाइसेन्स दिए । ‘३१ मार्च सन् १९६७ मा हामीले निकासीको पहिलो एलसी पाएका थियौं । केही समय त निकासी भयो, तर भारतको कोलकातामा विभिन्न झमेला र अवरोध हुन थाल्यो,’ उनी सम्झन्छन् ।
छाला निकासीका क्रममा बाबुलाल भारतको कोलकातामा बढी समय बिताउँथे । कोलकाता बन्दरगाहमा दुःख पाउँदा यो कुराले पिरोलिरहेको थियो । एकपटक उनी दिल्लीको प्रगति मैदानमा व्यापार मेलामा सहभागी हुन गइरहेका थिए । दिल्ली पुग्नुअगाडि एक ठाउँमा थुप्रै कन्टेनर राखिएको देखे । त्यसबारेमा कुनै जानकारी थिएन । पछि बुझ्दा त्यो सुक्खा बन्दरगाह भएको थाहा पाए । नेपालमा समुद्री बन्दरगाह नभए पनि सुक्खा बन्दरगाह त हुन सक्ने रहेछ भन्ने थाहा पाएका बाबुलाल त्यतिबेला वीरगञ्ज उद्योग वाणिज्य संघमा सक्रिय भइसकेका थिए ।
२०५२ देखि ५८ सालसम्म संघको अध्यक्ष हुँदा उनले सुक्खा बन्दरगाह निर्माणका लागि संस्थागत योगदान गरे । उनकै पहलमा संघले वीरगञ्जमा सुक्खा बन्दरगाह निर्माणको पहल गर्ने निर्णयमात्र गरेन, यसमा नेपाल र भारतका अधिकारीसहित ऋणदाता विश्व बैंकलाई समेत सहमत तुल्याए ।
२०६० सालमा वीरगञ्जमा नेपालकै पहिलो सुक्खा बन्दरगाह सञ्चालनमा आयो । २०५४ सालमा सरकारले लागू गरेको मूल्य अभिवृद्धि करको थ्रेसहोल्ड बढाउन संघले बाबुलालकै नेतृत्वमा अग्रणी भूमिका खेल्यो । त्यस बेला उद्यमी व्यापारीका केन्द्रीय संस्थासमेत प्रभावकारी प्रतिवादमा उत्रिन नसकेको अवस्थामा संघले वीरगञ्जका उद्योग बन्द गरेर औद्योगिक कोरिडोरबाट रोजगारदाता र मजदूरको संयुक्त विरोध र्याली निकालेको थियो । त्यसपछि मात्रै सरकारले यो विवाद टुंगो लगाउन १२ जनाको कार्यदल बनायो । कार्यदलमा बाबुलाल पनि थिए । काठमाडौंमा १३ दिनसम्म कार्यदलको बैठक भयो । धेरै विकल्पमा छलफल भयो । अन्ततः तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोहवरमा ४५ लाख रुपैयाँ थ्रेसहोल्ड राख्ने सहमति बन्यो ।
यस्तो छ चाचान समूहको इतिहास
करीब सवा सय वर्षअघि वीरगञ्ज र आसपासका क्षेत्रमा कपडाको घुमन्ते व्यापारबाट शुरू भएको व्यावसायिक उपक्रम आज वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने औद्योगिक तथा व्यापारिक समूहको रूपमा स्थापित भएको छ । उद्योगी बाबुलाल चाचानले नेतृत्व गरिरहेको चाचान समूह यही व्यापारिक उपक्रमको उपज हो । बाबुलाल भन्छन्, ‘विसं १९५५ तिर मेरा हजुरबुबा लखिरामले भारतको राजस्थानबाट ८ हजार भारतीय रुपैयाँ लिएर वीरगञ्जको छपकैयामा आएर व्यापार थाल्नुभयो । उहाँले त्यतिबेला भारतको मुजफ्फरपुरबाट कपडा ल्याएर पर्साको अलौ, बाराको जितपुर, परवानीपुर, वीरगञ्जको बिर्ता हाटबजारमा बेच्नुहुन्थ्यो । त्यस बेला अहिलेजस्तो सवारीको सुविधा पनि थिएन, घोडामा कपडा ओसारपसार हुन्थ्यो ।’
चाचानका हजुरबुबाले वीरगञ्जमा व्यापार विस्तार गर्न थालेपछि उनका दाइ र भाइ पनि यतै आएका थिए । लखिरामले केही समयपछि वीरगञ्जको महावीरस्थानमा कपडाको पसल खोले । अब घुमन्ते व्यापार पसलमा रूपान्तरण भयो । त्यति बेला वीरगञ्जका पाँचओटा कपडाका पसलमध्ये तीनओटा चाचान परिवारकै थिए । २००४ सालसम्ममा चाचान दाजुभाइले कपडाको थोक व्यापारमा हात हालिसकेका थिए । वीरगञ्ज नेपालको एकमात्र प्रवेशद्वार भएकाले यो क्षेत्र व्यापारको उर्वर क्षेत्र थियो । ‘यतिसम्म कि, बम्बै र अहमदाबादका कपडा उद्योगले वीरगञ्जमा कार्यालय खोलेका थिए,’ बाबुलाल आफ्नो बाल्यकालको स्मरण सुनाउँछन् । वीरगञ्जमा कपडाको कारोबार बढ्दै गएपछि व्यापारीहरूले विसं २००१ मा ‘वीरगञ्ज क्लथ मर्चेन्ट एशोसिएशन’ गठन गरेका थिए ।